नेरुडे मिर्मिरेको साधारण सभा विवादमा, नियामकमा उजुरी

६ श्रावण २०८३, बुधबार १८:२२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित वार्षिक साधारण सभा कानुनी प्रक्रिया र नियामकीय व्यवस्थाअनुसार सञ्चालन गराउन माग गर्दै एक शेयरधनीले नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय तथा सम्बन्धित संस्थामा उजुरी दर्ता गरेका छन्। सेयरधनी संजयकुमार श्रेष्ठले सभा सञ्चालनको तयारीमा कानुनी तथा प्रक्रियागत कमजोरी देखिएको दाबी गर्दै नियामक निकायको हस्तक्षेप आवश्यक रहेको बताएका छन्।

यसअघि असार ३२ गतेका लागि बोलाइएको वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो। संस्थाले पुनः साउन १० गतेका लागि सभा तय गरे पनि पहिलो सभाका लागि दर्ता भएका प्रोक्सीलाई पुनः मान्यता दिने निर्णयप्रति श्रेष्ठले असहमति जनाएका छन्। उनका अनुसार स्थगित सभाका लागि प्रोक्सीको वैधता पुनः परीक्षण गरी आवश्यक परे नयाँ प्रोक्सी दर्ताको अवसर दिनुपर्छ।

उजुरीमा पहिलो सभाका क्रममा केही प्रोक्सी सक्कल कागजातबिनै, प्रतिलिपि वा डिजिटल माध्यमबाट प्राप्त कागजातका आधारमा दर्ता गरिएको तथा हस्ताक्षरसमेत शंकास्पद रहेको गुनासो उल्लेख गरिएको छ। यस्ता प्रोक्सीको निष्पक्ष परीक्षण नगरी प्रयोग गरिए सेयरधनीको अधिकार र सुशासनको मर्ममाथि असर पर्ने दाबी गरिएको छ।

श्रेष्ठले साधारण सभा अघि सबै प्रोक्सीको प्रमाणीकरण, आवश्यक कागजातको उपलब्धता तथा वैध गणपूरक संख्या सुनिश्चित गर्न माग गरेका छन्। साथै, प्रक्रिया कानुनविपरीत भएको पुष्टि भए सम्बन्धित जिम्मेवार पदाधिकारीमाथि छानबिन र कानुनी कारबाही गरी सम्पूर्ण सभा निष्पक्ष, पारदर्शी र सेयरधनीमैत्री ढंगले सम्पन्न गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*