सहुलियतपूर्ण कर्जाको नयाँ ब्याज अनुदान कार्यविधि लागू

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा दिँदै आएको ब्याज अनुदान प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र नतिजामुखी बनाउन सम्बन्धित कार्यविधिमा संशोधन गरेको छ।
अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गरी लागू गरेको हो। संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।
नयाँ व्यवस्थाअनुसार सहुलियतपूर्ण कर्जा प्रवाहदेखि ब्याज अनुदान वितरण, कर्जाको उपयोग, अनुगमन तथा प्रतिवेदन प्रणालीसम्मका प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाइएको छ। अब ब्याज अनुदान प्राप्त गर्ने ऋणीले कर्जा स्वीकृत भएको उद्देश्यअनुसार नै रकम उपयोग गर्नुपर्नेछ भने कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले त्यसको नियमित अनुगमन गरी सम्बन्धित निकायलाई विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयका अनुसार संशोधनको मुख्य उद्देश्य सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्नु, ब्याज अनुदान वितरणलाई पारदर्शी बनाउनु र सरकारी अनुदानबाट प्रवाह भएका कर्जाको प्रभावकारिता बढाउनु हो। यसका लागि बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरकारी निकाय र लाभग्राहीको जिम्मेवारी तथा भूमिकालाई पनि थप स्पष्ट पारिएको छ।
कार्यविधिअनुसार कर्जा तोकिएको प्रयोजनभन्दा फरक रूपमा प्रयोग भएको वा नियमविपरीत गतिविधि भएको पाइएमा सम्बन्धित ऋणीको ब्याज अनुदान रोक्का गर्न सकिनेछ। आवश्यक परे प्रचलित कानुनअनुसार थप कारबाहीसमेत अघि बढाउन सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।











