स्थानीय तहमा भूमि बैंक सञ्चालन प्रक्रिया अघि बढ्यो, बाँझो जग्गा उत्पादनमा ल्याइने

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउने उद्देश्यले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले सूचना जारी गर्दै भूमि उपयोग ऐन, २०७६ र भूमि उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) मा भएको कानुनी व्यवस्थाअनुसार स्थानीय तहमार्फत प्रयोगविहीन निजी जग्गालाई उपयोगमा ल्याउने तयारी गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार जग्गाधनीले आफैं उपयोग गर्न नसकेको वा बाँझो रहेको निजी जग्गा सम्बन्धित स्थानीय तहमा सूचीकरण गरी भूमि बैंकमार्फत उत्पादनमूलक प्रयोजनका लागि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। यसबाट लामो समयदेखि प्रयोगविहीन रहेका जग्गाको सदुपयोग हुनुका साथै कृषि उत्पादन र रोजगारी प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा मन्त्रालयले गरेको छ।











