५ हजार अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा ल्याउँदा भन्सार घोषणा अनिवार्यः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ हजार अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा ल्याउँदा भन्सार घोषणा अनिवार्य गर्नुपर्ने बताएको छ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम यसअघि जारी गरिएका व्यवस्थालाई पुनः कार्यान्वयनका लागि सूचना प्रकाशन गरिएको बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म (भारतीय रुपैयाँ वा अन्य विदेशी मुद्राको हकमा पनि सोही बराबर रकमसम्म) नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्नेछन् । तर अमेरिकी डलर ५ हजारभन्दा बढी नगद विदेशी मुद्रा ल्याउँदा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको छ।
त्यस्तै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा अघि प्रचलनमा रहेका भारतीय ५०० र १ हजार रुपैयाँ दरका नोटको कारोबार पूर्ण रूपमा निषेध गरिएको राष्ट्र बैंकले पुनः स्पष्ट गरेको छ।
हाल प्रचलनमा रहेका भारतीय २०० र ५०० रुपैयाँका नोट भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म प्रचलित कानुनबमोजिम नेपाल ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था यथावत रहेको बैंकले जनाएको छ।
यस्तै नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यस्ता मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाइने व्यवस्था रहेको विषयमा पनि राष्ट्र बैंकले ध्यानाकर्षण गराएको छ।











