अनलाइन बेटिङ र अवैधानिक वित्तीय कारोबार गर्ने २ लाखभन्दा बढी वेबसाइट तथा एप बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाखभन्दा बढी वेबसाइट तथा मोबाइल एप बन्द गरेको छ।
सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित वेबसाइट तथा एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो। सोही निर्णयअनुसार त्यसबेला सञ्चालनमा रहेका सबै बेटिङ वेबसाइट बन्द गरिए पनि नयाँ नाम र डोमेनमार्फत पुनः सञ्चालनमा आउने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार यस वर्षको फिफा विश्वकप सुरु भएयता मात्रै २ लाख २३ हजार ५६८ वटा बेटिङ वेबसाइट तथा एप र अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित डिजिटल प्लेटफर्म बन्द गरिएको छ।
विश्वकपका क्रममा अनलाइन बेटिङको प्रयोग बढ्न सक्ने आकलन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत यस विषयमा विशेष चासो दिएपछि प्राधिकरणले निगरानी र कारबाहीलाई तीव्र बनाएको हो। त्यसका लागि प्राधिकरणले छुट्टै कार्यदल गठन गरी इन्टरनेट सेवा प्रदायक (आईएसपी) सँग समन्वय गर्दै प्रतिबन्धको काम अघि बढाएको जनाएको छ।
प्राधिकरणका अनुसार बेटिङ तथा अवैधानिक वित्तीय कारोबार सञ्चालन हुने वेबसाइटका युआरएल इन्टरनेट सेवा प्रदायकमार्फत ब्लक गरिन्छ। ठूलो संख्यामा यस्ता वेबसाइट सञ्चालन हुने भएकाले सम्बन्धित निकायबाट पहिचान गरिएका युआरएल तथा विशेष प्राविधिक प्रणालीको सहयोगमा त्यस्ता साइट पत्ता लगाई बन्द गर्ने कार्य भइरहेको छ।











