वैदेशिक रोजगार बीमालाई श्रमिकमैत्री बनाउने सरकारको तयारी

८ श्रावण २०८३, शुक्रबार १०:५४

काठमाडौं । सरकारले वैदेशिक रोजगार बीमालाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउने तयारी गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्म अनुरूप श्रमिकहरूको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै नयाँ कार्ययोजना अघि सारेको हो ।
मन्त्रालयले श्रमिकको मृत्यु वा अङ्गभङ्ग भएको अवस्थामा बीमा दाबी प्रक्रियालाई सहज बनाउन पीडित श्रमिकको घर÷परिवारमा पुगेर सहजीकरण गर्ने निर्णय गरेको छ । यसका लागि बीमा प्राधिकरणलाई पत्र लेखी कार्यान्वयनमा जोड दिइने मन्त्रालयले जनाएको छ ।

बीमा रकमको दाबी र भुक्तानी प्रक्रियालाई पारदर्शी बनाउन अब हकवालाको बैंक खातामा सिधै रकम पुग्ने गरी व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ । यसका लागि मोबाइल बैंकिङ र अन्य विद्युतीय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) को प्रयोग गरिनेछ ।

सेवा प्रवाहलाई छिटो–छरितो बनाउन वैदेशिक रोजगार बोर्ड र नेपाल बीमा प्राधिकरणको डिजिटल प्रणालीबिच अन्तर आबद्धता (एपीआइ) गर्ने निर्णय भएको छ । साथै, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय परिचयपत्र (एनआइडी), व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा आयोजना (भिइआरएसपी) र व्यवस्थापन सूचना प्रणाली (एमआइएस) बीच समन्वयात्मक पहुँच कायम गरी सूचना प्रणालीलाई एकीकृत गरिनेछ ।

श्रमिकको सुरक्षाको दायरा बढाउन मन्त्रालयका उपसचिवको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको छ । यो समितिले हालको बीमा र दाबी भुक्तानीको अवस्था, अन्तरराष्ट्रिय अभ्यास र नेपालको परिवेशको विश्लेषण, बिमाको दायरा विस्तार गर्दा प्रिमियममा आउने फरकको अध्ययन र बीमा सेवालाई श्रमिकमैत्री बनाउन आवश्यक सुधारका सुझाव विश्लेषण र समीक्षा गरी प्रतिवेदन पेस गर्नेछ ।

बीमाको आवश्यकता र महत्त्वबारे श्रमिकका परिवार र स्थानीय तहका पदाधिकारीहरूलाई जानकारी गराउन मन्त्रालयले विशेष पहल गर्ने भएको छ ।
यसका लागि नेपाल बीमा प्राधिकरण, बीमा कम्पनी र मन्त्रालय मातहतका निकायहरूले संयुक्त रूपमा बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । यी निर्णयहरूको कार्यान्वयनबाट वैदेशिक रोजगारीमा रहेका श्रमिक र निजका परिवारले झन्झटरहित बीमा सुविधा प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*