सत्याग्रही डा. गोविन्द केसीलाई धर्मशालाबाट हटाउने प्रयास, व्यवस्थापन समितिको पत्र

काठमाडौँ । धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न पत्र लेखेको छ । न्यायका लागि आन्दोलनरत व्यक्तिलाई आश्रयस्थलबाट हटाउन व्यवस्थापन समितिको पत्र लेखेको हो ।
व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई धर्मशाला खाली गर्न अनुरोध गरिएको पत्र हस्तान्तरण गरिएको बताएका छन् । उनका अनुसार डा केसी बसोबासका लागि धर्मशालामा आएका भए पनि पूर्वसूचना बिना सत्याग्रह सुरु गरिएको थियो। साथै, धार्मिक संस्थामा सत्याग्रह सञ्चालन गर्न अनुमति दिइएको विषयमा विभिन्न पक्षबाट दबाब आएको भन्दै धर्मशाला खाली गर्न अनुरोध गरिएको उनले बताएका छन्।
यसअघि अनेरास्ववियु कैलालीका अध्यक्ष कबेर खड्काले पनि धर्मशाला व्यवस्थापन समितिलाई डा. केसीलाई त्यहाँ सत्याग्रह गर्न नदिन आग्रह गरेका थिए।
यता, केसीका सहयोगी डा. अमृत जैसीले धर्मशाला खाली गर्न पत्र प्राप्त भएपछि अबको रणनीतिबारे छलफल भइरहेको बताएका छन्। उनका अनुसार डा. केसीले धर्मशालामा बस्ने विषयमा व्यवस्थापन समितिलाई पूर्वजानकारी गराएरै सत्याग्रह सुरु गरेका थिए।
डा. गोविन्द केसी पाँचबुँदे मागसहित बिहीबारदेखि धनगढीमा अनिश्चितकालीन सत्याग्रहमा रहेका छन्।











