शेयर बजारमा सुधारको निरन्तरताः कारोबार ६ अर्ब, यी कारण अझै बढ्ने छ मार्केट !

काठमाडौँ । पछिल्ला केही सातायता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा देखिएको सुधारले शेयर बजारमा नयाँ उत्साह थपिएको छ। बजार परिसूचकसँगै दैनिक कारोबार रकम पनि निरन्तर बढ्दै गएको छ भने नयाँ लगानीकर्ताको सहभागिता विस्तार हुँदै गएको देखिन्छ। लामो समयसम्मको सुस्त कारोबारपछि बजारमा देखिएको सकारात्मक लयले लगानीकर्ताको आत्मविश्वास पुनः फर्किन थालेको विश्लेषण गरिएको छ। बजारमा सामान्य करेक्सन आए पनि त्यसलाई स्वाभाविक रूपमा लिँदै लगानीकर्ताले दीर्घकालीन सम्भावनालाई प्राथमिकता दिन थालेकाले सुधारको प्रवृत्ति कायम रहने अपेक्षा गरिएको छ।
पुँजी बजारप्रति सकारात्मक वातावरण निर्माण गर्न पछिल्ला दिनमा देखिएका राजनीतिक तथा नीतिगत गतिविधिलाई पनि बजार सुधारको प्रमुख आधारका रूपमा हेरिएको छ। विशेषगरी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पूँजी बजारको विकास र विस्तारका विषयलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग निरन्तर छलफल तथा भेटवार्ता गरेपछि लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको बताइन्छ। बजार सुधारका लागि सबै पक्षबीच समन्वय आवश्यक रहेको सन्देशले लगानीकर्ताको मनोबल बढाएको विश्लेषकहरूको भनाइ छ।
यसैगरी नेपाल धितोपत्र बोर्डको सक्रियताले पनि बजारप्रतिको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। लामो समयदेखि आन्दोलनरत लगानीकर्तासँग छलफल गरेको बोर्डले बजार सुधारका लागि स्पष्ट कार्ययोजना अघि सारेको थियो। बोर्ड अध्यक्ष डा. गोपालप्रसाद भट्टले नियामकीय सुधार, लगानीकर्ता संरक्षण, पारदर्शिता अभिवृद्धि, बजार विस्तार तथा नयाँ वित्तीय उपकरणको विकासलाई प्राथमिकतामा राखेर चरणबद्ध रूपमा सुधार प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन्। यसले बजारमा दीर्घकालीन स्थायित्व र संस्थागत विकासप्रति आशा बढाएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.९० अकंले बढेर २७३४.६३ बिन्दुमा कायम भएको छ । आज ३५३ कम्पनीको १ करोड ३६ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १८ करोड १० लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ७ उपसूचकमा सुधार देखिएको छ भने ६ उपसूचक घटेको छ । आज वाणिज्य बैंक समूहको सर्वाधिक १.१७ प्रतिशतले बढेको हो ।

शुक्रबार १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ कम्पनीको घटेकोछ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।











