वालेट खोल्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य, राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्था के-के छन् ?

८ श्रावण २०८३, शुक्रबार १६:२९

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८२ अन्तर्गत भुक्तानी सेवा प्रदायक संस्थाले विद्युतीय वालेट सञ्चालन तथा ग्राहक पहिचान प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने निर्देशन जारी गरेको छ। भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको उक्त निर्देशनअनुसार अब अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाले नेपाली नागरिकका लागि वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार राष्ट्रिय परिचयपत्रको विवरणसमेत यकीन गर्नुपर्ने व्यवस्था गरिएको हो ।

निर्देशनअनुसार अनुमतिपत्रप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको सम्बन्धमा स्वःघोषणा लिनुपर्नेछ। त्यस्तै, राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकको हकमा सोही अवधिभित्र सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्रिय परिचयपत्र नलिएका नेपाली नागरिकको हकमा भने राष्ट्रिय परिचयपत्र प्राप्त गरी ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्न प्रेरित गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई प्रत्येक महिनामा मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट जानकारी दिने व्यवस्था गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशबाटै अनलाइनमार्फत विद्युतीय वालेट खोल्नुपरेमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेक आवश्यक अन्य कागजातका आधारमा पनि वालेट खोल्न सक्ने व्यवस्था गरिएको छ। तर, यसरी खोलिएको वालेटका प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण प्राप्त गरी अभिलेख अद्यावधिक गर्नुपर्नेछ।

यसैगरी, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकका हकमा पनि राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर नभए तापनि आवश्यक अन्य कागजातका आधारमा वालेट खोल्न तथा कारोबार गर्न सकिने व्यवस्था संशोधित निर्देशनमा समावेश गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*