सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख र अधिकृत साढे ७ लाख घुस सहित पक्राउ

काठमाडौं । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख सि.डि.हा.जी. अनुपमा ढकाल र मेकानिकल अधिकृत छैंठौं तहका तुलाकान्त चौधरी घुस सहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि सो कार्यको भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिँदै घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
आयोगले सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ स्थित कार्यालय प्रमुखको सरकारी क्वाटरबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउका क्रममा घुस रकमसँगै स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद तथा तीन थान मोबाइल समेत बरामद गरिएको आयोगले जनाएको छ । अख्तियारले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रवक्ता सुुरेश न्यौपानेले जानकारी दिएका छन् ।











