उपभोगमा १० खर्ब ९८ अर्ब ऋण प्रवाह हुँदा व्यापारमा ९ खर्ब ४९ अर्ब, बैंकको कर्जा कुन क्षेत्रमा कति ?

१० श्रावण २०८३, आईतवार १४:०९

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह र निक्षेप संकलन दुवै विस्तार भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट प्रवाह भएको कुल कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा उपभोग कर्जाले ओगटेको हो । व्यापार, अवधि (टर्म) कर्जा, उत्पादनमूलक उद्योग, कृषि तथा ऊर्जा क्षेत्रमा पनि उल्लेख्य लगानी भए पनि उपभोगसम्बन्धी कर्जाको हिस्सा सबैभन्दा माथि रहेको तथ्यांकले देखाएको छ।

तथ्यांकअनुसार वाणिज्य बैंकहरूले जेठ मसान्तसम्म ७० खर्ब १५ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। सोही अवधिमा विभिन्न आर्थिक क्षेत्रमा गरी ५१ खर्ब ६९ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। यसमध्ये उपभोग कर्जामा मात्रै १० खर्ब ९८ अर्ब ३० करोड रुपैयाँ लगानी भएको छ, जुन सबैभन्दा ठूलो क्षेत्रगत हिस्सा हो।

व्यापार क्षेत्र पनि बैंकहरूको प्राथमिकतामा देखिएको छ। थोक तथा खुद्रा व्यापारका लागि ९ खर्ब ४९ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। गैर–खाद्य उत्पादन उद्योगमा ५ खर्ब ८१ अर्ब २२ करोड रुपैयाँ लगानी रहेको छ भने विद्युत्, ग्यास तथा पानीसम्बन्धी आयोजनामा ४ खर्ब ९२ अर्ब ४४ करोड रुपैयाँ कर्जा परिचालन भएको छ। वित्त, बीमा तथा रियल इस्टेट क्षेत्रमा ३ खर्ब ७० अर्ब ७४ करोड रुपैयाँ लगानी रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

कृषि र उत्पादनसँग सम्बन्धित क्षेत्रमा पनि बैंकहरूको लगानी उल्लेख्य रहेको छ। कृषि, वन तथा पेय पदार्थ उत्पादनसँग सम्बन्धित गतिविधिमा ३ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। कृषि तथा वन क्षेत्रमा मात्रै ३ खर्ब ५६ करोड रुपैयाँ लगानी भएको छ। निर्माण क्षेत्रमा २ खर्ब ३० अर्ब १८ करोड, होटल तथा रेस्टुरेन्ट व्यवसायमा २ खर्ब २८ अर्ब ४३ करोड तथा यातायात, सञ्चार र सार्वजनिक सेवा क्षेत्रमा ६८ अर्ब ४२ करोड रुपैयाँ कर्जा पुगेको छ।

यसैगरी धातु उत्पादन, मेसिनरी तथा विद्युतीय उपकरण उद्योगमा ७१ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी भएको छ। अन्य सेवा क्षेत्रमा २ खर्ब ८ अर्ब ८९ करोड रुपैयाँ, स्थानीय सरकारतर्फ १ अर्ब १८ करोड रुपैयाँ तथा अन्य विविध क्षेत्रमा २ खर्ब ३७ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।

उत्पादनगत वर्गीकरणका आधारमा हेर्दा अवधि कर्जा (टर्म लोन) बैंकहरूको सबैभन्दा ठूलो लगानी रहेको शीर्षक बनेको छ। टर्म लोनअन्तर्गत १८ खर्ब ७९ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। छोटो अवधिको कार्यशील पुँजी तथा डिमान्ड लोनमा ८ खर्ब ५४ अर्ब ८६ करोड रुपैयाँ रहेको छ भने क्यास क्रेडिट कर्जा ५ खर्ब ८६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। अन्य उत्पादन शीर्षकअन्तर्गत ५ खर्ब ६२ अर्ब ४८ करोड रुपैयाँ कर्जा रहेको छ।

व्यक्तिगत आवास निर्माण तथा खरिदका लागि प्रदान गरिएको घर कर्जा ३ खर्ब ६३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। विपन्न वर्ग कर्जामा २ खर्ब ४३ अर्ब २८ करोड रुपैयाँ तथा रियल इस्टेट क्षेत्रमा २ खर्ब १९ अर्ब ५३ करोड रुपैयाँ लगानी भएको छ। त्यसैगरी मार्जिन प्रकृतिको कर्जा १ खर्ब ३९ अर्ब ७६ करोड रुपैयाँ, हायर पर्चेज कर्जा १ खर्ब २७ अर्ब २८ करोड रुपैयाँ, ओभरड्राफ्ट कर्जा ९० अर्ब ९१ करोड रुपैयाँ र ट्रस्ट रिसिप्ट तथा आयातसम्बन्धी कर्जा ९० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बिल्स पर्चेज शीर्षकमा १२ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह भएको तथ्यांकले देखाएको छ।

निक्षेप संरचनातर्फ बचत खाताले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। कुल निक्षेपमध्ये बचत खातामा ३३ खर्ब १४ अर्ब ८६ करोड ६८ लाख रुपैयाँ रहेको छ भने मुद्दती निक्षेप २५ खर्ब ९१ अर्ब १७ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

मुद्दती निक्षेपमध्ये ६ देखि १२ महिनासम्मको अवधिमा राखिएको निक्षेप सबैभन्दा बढी देखिएको छ, जसको आकार ८ खर्ब ४४ अर्ब १० करोड रुपैयाँभन्दा बढी रहेको छ। १ देखि २ वर्ष अवधिको मुद्दती निक्षेप ८ खर्ब १३ अर्ब ९८ करोड रुपैयाँ, २ वर्षभन्दा बढी अवधिको निक्षेप ५ खर्ब ७७ अर्ब १४ करोड रुपैयाँ तथा ३ देखि ६ महिनाको मुद्दती निक्षेप ३ खर्ब ८५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। १ देखि ३ महिनाको अवधिमा राखिएको मुद्दती निक्षेप पनि उल्लेख्य रहेको राष्ट्र बैंकले जनाएको छ।

ब्याज नदिइने निक्षेपतर्फ चालु खातामा ४ खर्ब ८३ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने मार्जिन खातामा ४६ अर्ब २९ करोड रुपैयाँ रहेको छ। अन्य शीर्षकमा १ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*