वर्षा र पहिरोले देशभरका आठ मुख्य सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न जिल्लाका आठ प्रमुख राजमार्गहरूमा पहिरो, बाढी तथा सडक कटानका कारण यातायात सेवा प्रभावित भएको छ ।
नेपाल प्रहरीले आइतबार अपराह्न ४ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, इलाम, सिन्धुपाल्चोक, दोलखा, रसुवा, मुगु र लमजुङका विभिन्न सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ ।
वि.पी. राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक–सिन्धुलीको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । उक्त सडकमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन गर्न रोक लगाइएको हो। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुनेछ ।
यस्तै मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।
इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे बनेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गका दुई स्थानमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा सडकमाथिबाट पहिरो खसेको छ भने भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरो क्षेत्रमा ढुङ्गा, माटो र लेदो खसेर सडक अवरुद्ध भएको हो ।
दोलखाको लामासाँघु–रामेछाप राजमार्ग पनि सामाकोशी खोलाको बहाव बढेर सडक कटान गरेपछि अवरुद्ध भएको छ । तामाकोशी गाउँपालिका–५ किर्नेटार क्षेत्रमा सडक क्षतिग्रस्त भएपछि यातायात ठप्प भएको थियो । पछि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
रसुवाको पासाङ ल्हामु सडक खण्ड अन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । मुगुको नाग्म–गमगडी सडक खण्ड अन्तर्गत छायानाथ रारा नगरपालिका–७ झ्यारी खोलामा माथिबाट ढुङ्गासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ । त्यसैगरी लमजुङको बेँसीशहर–च्यामे (मनाङ) सडक खण्ड अन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौर क्षेत्रमा शनिबार अपराह्न पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।











