कम भिजिबिलिटीमै सुरक्षित अवतरण गर्ने विमान बुद्ध एयरले भित्र्यायो

१० श्रावण २०८३, आईतवार १७:०७

काठमाडौं । बुद्ध एयरले आफ्नो बेडामा नयाँ एटीआर–७२–६०० विमान थपेको छ। कम्पनीले फ्रान्सको तुलुसबाट ल्याएको ‘९एन–एओएस’ कल साइन भएको विमानले आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरेपछि अर्को महिनादेखि नियमित व्यावसायिक उडान सुरु गर्ने भएको हो।

कम्पनीका अनुसार नयाँ विमानमा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणालीसहितको अत्याधुनिक एभियोनिक्स जडान गरिएको छ। कम इन्धन खपत गर्ने भएकाले यो सिरिजका विमानलाई वातावरणमैत्रीसमेत मानिन्छ।

यस विमानमा ‘आरएनपी–एआर एप्रोच’ प्रणाली जडान गरिएको छ, जसको प्रयोगबाट काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटीमा पनि सुरक्षित अवतरण गर्न सकिने कम्पनीले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआरमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको छ। उक्त प्रणाली लागू भएपछि करिब २ हजार मिटर भिजिबिलिटीमा पनि बुद्ध एयरको यो विमानले पोखरामा सुरक्षित उडान र अवतरण गर्न सक्ने अपेक्षा गरिएको छ।

बुद्ध एयरका अनुसार कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ तथा अवरोध घट्ने, उडान सुरक्षा थप मजबुत हुने र हवाई सेवाको गुणस्तर तथा विश्वसनीयता बढ्ने विश्वास गरिएको छ। हाल इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) प्रक्रियाअनुसार पोखराका लागि ३,१०० मिटर तथा काठमाडौं र भैरहवाका लागि १,६०० मिटर भिजिबिलिटी आवश्यक पर्ने व्यवस्था छ।

कम्पनीले आगामी अगस्टको अन्त्यसम्म अर्को एक एटीआर–७२–६०० विमान ल्याउने तयारी गरेको जनाएको छ। त्यसपछि केही महिनाभित्र यही सिरिजका थप दुई विमान पनि बेडामा थप्ने योजना रहेको छ। हाल बुद्ध एयरसँग एउटा एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एउटा एटीआर–७२–६०० विमान सञ्चालनमा रहेका छन्। नयाँ विमान थपिएसँगै कम्पनीको एटीआर–७२–६०० विमानको संख्या दुई पुग्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*