साउन १५ सम्म डिम्याट नवीकरण नगरे खाता रोक्का हुने

काठमाडौं । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क नबुझाए डिम्याट खाता रोक्का हुने भएको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सूचना जारी गर्दै तोकिएको समयभित्र वार्षिक शुल्क नतिर्ने डिम्याट खाता साउन १६ गतेदेखि रोक्का गरिने जनाएको हो। खाता रोक्का भएपछि सम्बन्धित लगानीकर्ताले दोस्रो बजारमा सेयर खरिद–बिक्री गर्न तथा डिम्याटसँग सम्बन्धित सेवा लिन पाउने छैनन्।
हरेक वर्ष असार मसान्तभित्र बुझाउनुपर्ने वार्षिक शुल्क यस वर्ष साउन १५ गतेसम्म तिर्न सकिने व्यवस्था गरिएको छ। डिम्याट खाताको वार्षिक नवीकरणका लागि १०० रुपैयाँ शुल्क लाग्ने सीडीएससीले जनाएको छ। हाल देशभर डिम्याट खाताको संख्या ८० लाख ९ हजार ६२३ पुगेको छ।
त्यस्तै, ‘मेरो सेयर’ सेवाको वार्षिक नवीकरण शुल्क ५० रुपैयाँ रहेको छ। उक्त शुल्क पनि समयमै बुझाउन सीडीएससीले आग्रह गरेको छ। हाल ‘मेरो सेयर’मा सक्रिय खाताको संख्या ५१ लाख ४८ हजार ८९४ रहेको छ।
‘मेरो सेयर’ प्रणालीमार्फत लगानीकर्ताले अनलाइनबाटै आईपीओ, एफपीओ तथा हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। साथै दोस्रो बजारमा खरिद–बिक्री भएको सेयरको हस्तान्तरण लगायतका सेवा पनि यही प्रणालीबाट सञ्चालन हुँदै आएको छ।
सीडीएससीका अनुसार डिम्याट तथा ‘मेरो सेयर’ नवीकरण शुल्क घरमै बसेर अनलाइनबाट तिर्न सकिन्छ। त्यसका लागि ‘मेरो सेयर’मा लगइन गरी ‘एकाउन्ट इन्फर्मेसन’ अन्तर्गतको ‘रिन्यू एकाउन्ट’ विकल्पमा गएर इसेवा, खल्ती, प्रभु पे, आईएमई पे वा कनेक्ट आईपीएसमध्ये कुनै एक भुक्तानी माध्यम छनोट गरी शुल्क तिर्न सकिने व्यवस्था गरिएको छ।











