सानिमा बैंकको नाफा ३ अर्ब ५५ करोड, अधिकांश वित्तीय सूचकमा उल्लेखनीय प्रगति

११ श्रावण २०८३, सोमबार १०:३२

काठमाडौँ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकका अधिकांश सूचकमा सुधार देखिएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ अर्ब ५५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.०१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ३ अर्ब ५७ करोड ५९ लाख रुपैयाँबाट ४४.४४ प्रतिशतले बढेर ५ अर्ब १६ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १० प्रतिशतले बढेर ६ अर्ब ९९ करोड १५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ३५ करोड ६० लाख रुपैयाँ थियो।

त्यसैगरी, खुद शुल्क तथा कमिसन आम्दानी ११.१० प्रतिशतले बढ्दै १ अर्ब ३२ करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ थियो।

खुद ब्याज आम्दानी र शुल्क तथा कमिसन आम्दानीमा भएको वृद्धिसँगै बैंकको कुल सञ्चालन आम्दानी १३.१३ प्रतिशतले बढेर ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँ पुगेको छ।

लाभांश वितरण क्षमतामा समेत बैंकले उल्लेखनीय प्रगति गरेको छ। नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड १८ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको २ अर्ब १० करोड २९ लाख रुपैयाँको तुलनामा ३४.६६ प्रतिशत बढी हो।

प्रतिशेयर आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष १८ रुपैयाँ ९४ पैसा रहेको ईपीएस बढेर २५ रुपैयाँ ७५ पैसा पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ८३ पैसाबाट बढेर १८८ रुपैयाँ ४२ पैसा पुगेको छ।

निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा दोहोरो अंकको वृद्धि देखिएको छ। ग्राहक निक्षेप ११.२४ प्रतिशतले बढेर २ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ भने ग्राहक कर्जा ११.०२ प्रतिशतले बढेर १ खर्ब ९५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*