३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले साउन ११ गते १७९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो। बोलकबोल प्रक्रिया दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत मात्रै सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ। न्यूनतम १० करोड रुपैयाँका लागि बोल गर्न सकिनेछ भने त्यसपछि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमसम्म बोल पेश गर्न सकिने व्यवस्था गरिएको छ।
यस निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।











