विवादबीच नेरुडे मिर्मिरेको साधारणसभा सम्पन्न, गणपूरक संख्यामै विवाद

११ श्रावण २०८३, सोमबार ११:२०

काठमाडौँ । लामो समयदेखि आन्तरिक विवाद र नियामकीय चुनौतीको सामना गरिरहेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १९औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। यद्यपि, सभाको गणपूरक संख्यालाई लिएर असन्तुष्ट शेयरधनी समूहले वैधतामै प्रश्न उठाएपछि विवाद भने कायमै रहेको छ।

पहिलोपटक आह्वान गरिएको वार्षिक साधारणसभा आवश्यक गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो। त्यसपछि पुनः आह्वान गरिएको सभा आइतबार भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा सञ्चालक समितिका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न भएको संस्थाले जनाएको छ।

संस्थाले कम्पनी ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी प्रचलित कानुन तथा प्रबन्धपत्र र नियमावलीबमोजिम सभा सम्पन्न भएको दाबी गरेको छ। तर, असन्तुष्ट शेयरधनी पक्षले दोस्रोपटक बोलाइएको सभामा पनि आवश्यक गणपूरक संख्या नपुगेको दाबी गरेको छ।

सभामा २१ जना शेयरधनीले निष्क्रिय कर्जा, घाटामा रहेका शाखाको सुधार, जनशक्ति व्यवस्थापन, आन्तरिक विवाद समाधान र लगानीकर्तालाई नियमित प्रतिफल उपलब्ध गराउने विषयमा प्रश्न तथा सुझाव दिएका थिए। प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले संस्थाको वित्तीय अवस्था सुधारोन्मुख रहेको बताउँदै शेयरधनीका सुझाव कार्यान्वयन गरिने बताएका छन्।

साधारणसभाले पाँच साधारण र चार विशेष प्रस्ताव पारित गर्दै नियामकीय स्वीकृतिपछि पूँजी वृद्धि, प्रबन्धपत्र संशोधन तथा आवश्यक परे मर्जर वा प्राप्तिको प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिएको छ। यद्यपि, गणपूरक संख्या र संस्थाभित्रको लामो समयदेखिको आन्तरिक विवादका कारण सुशासनसम्बन्धी प्रश्न भने अझै कायम रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*