बीमा दाबी भुक्तानीमा बीमितलाई पुनः नयाँ बीमा योजना खरिद गर्न दबाब दिने बीकमलाई प्राधिकरणको ध्यानाकर्षण

काठमाडौं । बीमा दाबी भुक्तानी दिने क्रममा पुनः नयाँ बीमा योजना खरिद गर्न दबाब दिने बीकमलाई नेपाल बीमा प्राधिकरणले ध्यानाकर्षण गराएको छ।
प्राधिकरणले जीवन र लघुजीवन बमिा कम्पनीहरुलाई दाबी भुक्तानीको समयमा बीमितलाई दबाबमा पारी अर्को बीमालेख खरिद गर्न बाध्य नपार्न र सो काम गरेको पाइएमा बीमा ऐन अनुसार कारावाही समेत गरिने सहायक निर्देशक सुदीप गिरीले बताएका छन् ।
पछिल्लो समय वैदेशिक रोजगार म्यादी बीमा तथा अन्य जीवन बीमा दाबी भुक्तानी गर्दा केही बीमकबाट पुनः अर्को बीमालेख खरिद गर्न अनुचित दबाब दिने गरेको गुनासो बढेसँगै प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।
साथै प्राधिकरणले बीमितहरुलाई यस प्रकारको दुख नदिन कम्पनीहरुलाई ध्यानाकर्षण समेत गराएको छ।
प्राधिकरणले बीमा दाबी भुक्तानी गर्ने कार्य बीमकको करारीय दायित्व भएको हुँदा दाबी भुक्तानीको समयमा बीमकले अर्को बीमालेख बिक्रीसँग शर्त तोक्ने वा अर्को बीमालेखको लागि अनुचित दबाब दिने गरेको पाइएमा बीमा ऐन, २०७९ बमोजिम कारवाही हुने बेहोरा निर्देशानुसार जानकारी गराएको छ ।












