नागढुङ्गा सुरुङमार्ग उद्घाटन, ‘नेपाल सुरुङ युगमा प्रवेश गर्यो’

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा आयोजित विशेष समारोहबीच सुरुङमार्गको उद्घाटन गरिएको हो।
करिब सात वर्षको निर्माण अवधिपछि सञ्चालनमा आएको यस सुरुङमार्गले काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समय घटाउने तथा सुरक्षित र आधुनिक सडक पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लम्सालले नेपाल अब सुरुङमार्ग निर्माणको युगमा प्रवेश गरेको बताए। देशका विभिन्न स्थानमा आवश्यकताअनुसार थप सुरुङमार्ग निर्माण गर्दै यातायातलाई सहज र सुरक्षित बनाइने उनले उल्लेख गरे।











