आईपीओको तयारीमा रहेको प्रभु हेलिकप्टरको व्यापार साढे २८ करोड, खुम्बु क्षेत्रबाट ५८% आम्दानी

काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी गरी रहेको प्रभु हेलिकप्टरले वर्षदिनको अवधिमा साढे २८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/०८२ (२०२५) मा २८ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।
कम्पनीले आर्जन गरेको आम्दानी अघिल्लो आर्थिक वर्ष २०८०/०८१ (२०२४) को तुलनामा साढे ९ प्रतिशत अर्थात् २ करोड ५० लाख रुपैयाँले बढी हो । सो आर्थिक वर्षमा कम्पनीको व्यापार २६ करोडमा सीमित रहेको थियो ।
यसअघि कम्पनीको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०७७/७८ (२०२१) मा १२ करोड ५० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/८० (२०२३) मा उल्लेखनीय रूपमा बढेर ४१ करोड ७० लाख रुपैयाँ पुगेको थियो । त्यसपछि आर्थिक वर्ष २०८०/८१ (आर्थिक २०२४) मा कम्पनीको दुईमध्ये एउटा हेलिकप्टर आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्त्यदेखि सञ्चालनबाहिर रहेकाले सेवा आपूर्तिमा अवरोध उत्पन्न भयो । यसै कारण कुल सञ्चालन आम्दानी सो वर्ष घटेपनि पुनः सकारात्मक लयतिर फर्किएको हो ।
आर्थिक वर्ष २०८१/८२ कम्पनीले गरेको कुल आम्दानीमध्ये खुम्बु क्षेत्रबाट मात्रै करिब ५८ प्रतिशत आम्दानी भएको हो । खुम्बु क्षेत्रले कम्पनीको आम्दानीको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । त्यसपछि मनास्लु क्षेत्रबाट करिब १० प्रतिशत, सिमिकोट क्षेत्रबाट ८ प्रतिशत, कञ्चनजङ्घा क्षेत्रबाट ५ प्रतिशत, उद्धार कार्यबाट ५ प्रतिशत तथा बाँकी ९ प्रतिशत आम्दानी अन्य विविध क्षेत्रहरूबाट आम्दानी गरेको हो ।
कम्पनीको मासिक आम्दानी असोजदेखि मंसिर र चैतदेखि जेठसम्मको अवधिमा बिक्री बढी केन्द्रित रहेको छ । जुन नेपालका प्रमुख पदयात्रा तथा हिमाल आरोहणका मौसमसँग मेल खान्छ । यी दुई अवधिबाट मात्रै आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आम्दानीको करिब ६१ प्रतिशत प्राप्त भएको थियो । जुन आर्थिक वर्ष २०८१/८२ मा बढेर करिब ६९ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ (मध्य जुलाई २०२५) सम्म कम्पनीको चुक्ता पुँजी ६३ करोड ७५ लाख रुपैयाँ पुगेको छ । कम्पनीका प्रमुख सेयरधनीमा सनराइज होल्डिङ्स लिमिटेड र सुभाष अमात्य रहेका छन् । उनीहरूले कम्पनीको कुल सेयरमध्ये ३५ दशमलव ९३ प्रतिशत हिस्सा ओगटेका छन् ।
कम्पनीको ब्याज, कर, मूल्यह्रास तथा अमूर्त सम्पत्तिको खर्च कटाउनुअघिको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०७७/७८ मा ऋणात्मक रहेको थियो । यो अनुपात आर्थिक वर्ष २०७८/७९ मा २७ दशमलव ४८ प्रतिशत, आर्थिक वर्ष २०७९/८० मा ५४ दशमलव ०८ प्रतिशत, आर्थिक वर्ष २०८०/८१ मा ४५ दशमलव ३४ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ मा ४६ दशमलव ०४ प्रतिशत रहेको छ ।
ब्याज तिर्न सक्ने क्षमता जनाउने ब्याज भुक्तानी आवरण अनुपात आर्थिक वर्ष २०७७/७८ मा ऋणात्मक रहेको थियो । यो अनुपात आर्थिक वर्ष २०७८/७९ मा ० दशमलव ७५ गुणा, आर्थिक वर्ष २०७९/८० मा २ दशमलव ४० गुणा, आर्थिक वर्ष २०८०/८१ मा १ दशमलव ८९ गुणा तथा आर्थिक वर्ष २०८१८/२ मा ३ दशमलव ०१ गुणा पुगेको छ ।
त्यसैगरी, समग्र ऋणभार जनाउने समग्र गियरिङ अनुपात आर्थिक वर्ष २०७७/७८ मा १८ दशमलव ०६ गुणा रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा ३० दशमलव ५४ गुणा पुगेको थियो। त्यसपछि आर्थिक वर्ष २०७९/८० मा ४ दशमलव ४७ गुणा, आर्थिक वर्ष २०८०/८१ मा २ दशमलव १७ गुणा र आर्थिक वर्ष २०८१/८२ मा १ दशमलव २४ गुणामा झरेको छ ।
साबिक मुक्तिनाथ एयरलाइन्स प्रालिको व्यवसाय अधिग्रहण गर्दै सन् २०१५ मा निजी लिमिटेड कम्पनीका रूपमा स्थापना भएको कम्पनी सन् २०२२ जुलाई १४ मा प्रभु हेलिकप्टर लिमिटेडका रूपमा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ ।
नेपालमा चार्टर सेवा प्रदायकका रूपमा परिचित प्रभु हेलिकप्टरले हवाई अवलोकन, बिरामी उद्धार, हिमाली उद्धार, धार्मिक तथा सांस्कृतिक सम्पदा भ्रमण, चार्टर उडान तथा ग्राहकको आवश्यकता अनुसारका अन्य विशेष हवाई सेवा प्रदान गर्दै आएको छ । कम्पनीमा ५९ भन्दा बढी दक्ष जनशक्ति कार्यरत छन् भने दुई वटा हेलिकप्टरको बेडा रहेको छ ।
प्रभु हेलिकप्टर लिमिटेडले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट पहिलो पटक जारीकर्ता तथा बैंकिङ सुविधासम्बन्धी साख मूल्याङ्कन प्राप्त गरेको छ। संस्थाले कम्पनीलाई आईआरएन बिबी– (जारीकर्ता) साख मूल्याङ्कन प्रदान गरेको छ। यस मूल्याङ्कनले कम्पनीले आफ्ना वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। त्यसैगरी, कम्पनीको दीर्घकालीन विदेशी मुद्रातर्फको दुई अर्ब ७६ करोड ८४ लाख रुपैयाँको बैंकिङ सुविधालाई आईआरएन बिबी– तथा ३० करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको दीर्घकालीन नेपाली रुपैयाँ बैंकिङ सुविधालाई पनि आईआरएन बिबी– साख मूल्याङ्कन प्रदान गरिएको छ।
त्यस्तै, छ करोड ५१ लाख रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधालाई आईआरएन ए–४ साख मूल्याङ्कन दिइएको छ। कम्पनीको कुल विदेशी मुद्रातर्फको ऋण दुई अर्ब ७६ करोड ८४ लाख रुपैयाँ तथा नेपाली रुपैयाँतर्फको कुल ऋण ३६ करोड ९८ लाख ५० हजार रुपैयाँ रहेको छ।











