चन्द्रागिरिमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहान २ः५८ बजे सतुङ्गलबाट कलङ्कीतर्फ जाँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ गइरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक र पछाडि सवार महिलालाई तत्काल उद्धार गरी कलङ्कीस्थित शहीद मेमोरियल अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि उनीहरूलाई ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पताल रिफर गरिएको थियो।
उपचारका क्रममा चन्द्रागिरि नगरपालिका–१२ हरियाली निवासी ४० वर्षीय दीपक नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटरमा पछाडि सवार चन्द्रागिरि नगरपालिका–१४ निवासी ५६ वर्षीया शुभद्रा कुमारी नेपालको पनि उपचारकै क्रममा बिहान ७ः०५ बजे मृत्यु भएको हो।
दुर्घटनापछि स्कुटर ट्राफिक प्रहरी प्रभाग कलङ्कीको नियन्त्रणमा राखिएको छ भने मिनी ट्रक र चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











