राताम्य बन्यो पुँजी बजारः कारोबार ६ अर्ब, प्रवेशका लागि अवसर कि चुनौति ?

काठमाडौँ । अघिल्लो साता चार दिन हरियाली देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले यो साताको पहिलो कारोबार दिन भने तीव्र करेक्सन बेहोरेको छ । कारोबार सुरु भएदेखि नै बिक्री चाप बढेपछि बजार राताम्य बनेको हो । यद्यपि, लगानीकर्ता तथा बजार विश्लेषकहरूले यसलाई नकारात्मक संकेतभन्दा पनि स्वाभाविक करेक्सनका रूपमा व्याख्या गरेका छन् । छोटो अवधिमा निरन्तर बढेको बजारमा नाफा सुरक्षित गर्ने प्रवृत्ति बढ्नु सामान्य प्रक्रिया भएकाले यसले बजारको आधार अझ मजबुत बनाउने उनीहरूको विश्वास छ ।
बजारसँगै कारोबार रकम पनि निरन्तर विस्तार हुँदै गएको छ भने नयाँ लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा बढिरहेको देखिएको छ । करेक्सनले अत्यधिक मूल्यवृद्धिलाई सन्तुलनमा ल्याउने, नयाँ लगानीकर्तालाई प्रवेश गर्ने अवसर प्रदान गर्ने तथा बजारलाई दीर्घकालीन रूपमा दिगो बनाउने काम गर्छ । कृत्रिम रूपमा एकतर्फी बढेको बजारभन्दा करेक्सन हुँदै अघि बढ्ने बजार बढी स्थिर र भरपर्दो हुने लगानीकर्ताहरूको धारणा छ ।
पछिल्ला दिनमा पुँजी बजारप्रति सकारात्मक वातावरण निर्माण हुन थालेको पनि लगानीकर्ताको मनोबल बढाउने अर्को महत्वपूर्ण पक्ष बनेको छ। बजार सुधार, विस्तार र लगानीमैत्री वातावरण निर्माणका विषयमा विभिन्न तहमा छलफल तीव्र बनेका छन् । विशेषगरी बालेन्द्र शाहले पुँजी बजारको विकासका विषयलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग निरन्तर संवाद र भेटवार्ता गरेपछि लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको बताइन्छ । पुँजी बजारलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको धारणा बलियो बन्दै गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२८ अकंले घटेर २७०१.३२ बिन्दुमा कायम भएको छ । आज ३५९ कम्पनीको १ करोड ३९ लाख १३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७ करोड १८ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन २ उपसूचकमा मात्रै सुधार देखिएको छ । आज वाणिज्य बैंक समूह र म्युचुअल फण्ड समूहको शेयर मूल्यमा सामान्य सुधार देखिएको हो । अन्य ११ उपसूचक राताम्य भएका छन् ।
सोमबार ३६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको घटेको छ । यसदिन ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।












