सरकारविरुद्ध सहकारी पीडितको आक्रोश: ‘सबै बचतकर्तालाई समान न्याय चाहिन्छ’

११ श्रावण २०८३, सोमबार १६:३१

काठमाडौं । सहकारी पीडित बचतकर्ताहरूले सबै बचतकर्तालाई समान व्यवहार गर्दै बचत रकम फिर्ता गर्न माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारले साना र ठूला बचतकर्ताको नाममा पीडितहरूलाई विभाजन गरेर आन्दोलन कमजोर बनाउन खोजेको आरोप लगाए। उनीहरूले सबै पीडितलाई समान रूपमा व्यवहार गरी बचत फिर्ताको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्।

महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनमा सहभागी सहकारी पीडितहरूको बचत रकम तत्काल फिर्ता गर्न सरकारसँग आग्रह गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि मागको सुनुवाइ नभएको बताए। विगतमा सरकारसँग भएका सहमतिहरू कार्यान्वयन नभएको उल्लेख गर्दै उनले माग सम्बोधनमा थप ढिलाइ भए सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए।

उनले सहकारी पीडित सबै समान भएकाले साना र ठूला बचतकर्ताको आधारमा विभाजन गर्नु अन्यायपूर्ण हुने बताए। सरकारले ठूला ऋणीबाट कर्जा असुली गरी साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको उल्लेख गर्दै उनले सबै पीडितलाई समान रूपमा न्याय दिलाउनुपर्नेमा जोड दिए।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो बचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म?’, ‘जग्गा मिलानका नाममा पीडित बचतकर्तामाथि हुने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्तालाई न्याय देऊ’, ‘ए सरकार, कि त मारिदेऊ, कि त खोला तारीदेऊ’ र ‘सहकारी पीडित बचतकर्ता एक होऔँ’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए। उनीहरूले आफूहरू पीडित बनेका सहकारी संस्थाका सञ्चालकहरूको तस्वीरसहितका ब्यानरसमेत प्रदर्शन गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*