आईपीओअघि नर्भिक इन्टरनेशनल हस्पिटलको वित्तीय प्रदर्शन सुदृढ, ९ महिनाको व्यापार २ अर्ब नाघ्यो

काठमाडौँ । आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले नौ महिनामै २ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। अस्पतालले गत आर्थिक वर्षको नौ महिनामा २ अर्ब ४ करोड ४० लाख रुपैयाँको कारोबार भएको हो।
ओपीडी र आईपीडी सेवामा बिरामीको संख्या बढ्नु तथा सञ्चालन क्षमता विस्तार हुँदै जानुले आम्दानीमा उल्लेखनीय वृद्धि भएको अस्पतालले जनाएको छ। वार्षिक कारोबारको प्रवृत्ति पनि निरन्तर उकालो लागेको देखिन्छ। सन् २०२३ मा १ अर्ब ९४ करोड रुपैयाँको कारोबार गरेको अस्पतालले सन् २०२४ मा २ अर्ब ३ करोड ३० लाख रुपैयाँ पुर्याएको थियो। त्यसपछि सन् २०२५ मा कारोबार बढेर २ अर्ब २६ करोड ३० लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशतले बढी हो।
स्वास्थ्य सेवा लिन आउने बिरामीको संख्या पनि पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेको छ। सन् २०२१ मा ओपीडी सेवा लिने ९४ हजार २३० जना रहेकोमा सन् २०२५ सम्म आइपुग्दा यो संख्या १ लाख ६० हजार ३५१ पुगेको अस्पतालले जनाएको छ। यस अवधिमा वार्षिक औसत १४ प्रतिशतका दरले बिरामीको संख्या वृद्धि भएको दाबी गरिएको छ। सन् २०२५ मा ८ हजार ५०० जनाले आईपीडी सेवा लिएका थिए।
गत आर्थिक वर्षको पहिलो नौ महिनामा मात्रै ओपीडी सेवा लिने बिरामीको संख्या ८.९ प्रतिशतले बढेर १ लाख २७ हजार ४७३ पुगेको छ। यही अवधिमा आईपीडी सेवा उपयोग गर्नेको संख्या पनि ४.६ प्रतिशतले वृद्धि हुँदै ६ हजार ५९४ पुगेको छ।
अस्पतालको सञ्चालन कार्यसम्पादनमा पनि सुधार देखिएको छ। सन् २०२२ मा १९ प्रतिशत रहेको सञ्चालन मार्जिन सन् २०२५ मा बढेर २७ प्रतिशत पुगेको छ। सञ्चालन नाफामा सुधारसँगै आन्तरिक नगद आर्जन पनि उल्लेख्य रूपमा बढेको छ। सन् २०२२ मा २३ करोड ७० लाख रुपैयाँ रहेको नगद आर्जन सन् २०२५ मा ४१ करोड ९० लाख रुपैयाँ पुगेको थियो। पछिल्लो नौ महिनामा नगद सञ्चिति थप बढेर ४७ करोड १० लाख रुपैयाँ पुगेको अस्पतालले जनाएको छ।
क्षमता विस्तारका लागि थप ऋण लिइए पनि नाफा सञ्चिति, नयाँ इक्विटी लगानी तथा तुलनात्मक रूपमा कम ब्याजदरका कारण पूँजी संरचना थप सुदृढ भएको अस्पतालको भनाइ छ। सन् २०२५ मा मात्रै १९ करोड ४४ लाख रुपैयाँ बराबरको नयाँ इक्विटी थपिएको थियो, जसले कम्पनीको नेटवर्थ बलियो बनाएको उल्लेख गरिएको छ।
ऋण व्यवस्थापनतर्फ पनि अस्पतालले सुधार देखाएको छ। सन् २०२५ मा १.२५ गुणा रहेको समग्र गियरिङ अनुपात घटेर गत आर्थिक वर्षको नौ महिनामा १.१७ गुणामा झरेको छ। यही अवधिमा १३ करोड १० लाख रुपैयाँ बराबरको ऋण निर्धारित समयभन्दा अघि नै भुक्तानी गरिएको अस्पतालले जनाएको छ। ब्याज तिर्ने क्षमता पनि उल्लेखनीय रूपमा बढेको छ। सन् २०२४ मा ५.३९ गुणा रहेको ब्याज कभरेज अनुपात सन् २०२५ मा १०.९० गुणासम्म पुगेको छ।
अस्पतालले हाल सञ्चालनमा रहेको ११६ शय्यालाई विस्तार गरेर २७५ शय्या पुर्याउने परियोजना अघि बढाइरहेको छ। सुरुमा ३ अर्ब १२ करोड २० लाख रुपैयाँ अनुमान गरिएको परियोजनाको लागत संशोधनपछि ३ अर्ब ३२ करोड २० लाख रुपैयाँ पुगेको छ। यससँगै प्रारम्भिक अनुमानभन्दा लागत २० करोड रुपैयाँले बढेको छ। परियोजनामा प्रतिबद्ध लगानीमध्ये करिब ५८ प्रतिशत खर्च भइसकेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ। विस्तारित सेवाबाट सन् २०२७ देखि व्यावसायिक सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको छ। परियोजनाका लागि १ अर्ब ८७ करोड रुपैयाँ कर्जा सुनिश्चित भइसकेको छ।
सन् १९९३ मा स्थापना भएको नर्भिक अस्पताल सन् २०२१ देखि पब्लिक कम्पनीका रूपमा सञ्चालनमा छ। हाल चौधरी समूहअन्तर्गत सञ्चालित अस्पतालमा बीएलसी होल्डिङ प्रालिको ३४ प्रतिशत र वसन्तकुमार चौधरी अध्यक्ष रहेको बीएलसी ग्लोबल होल्डिङको ४९ प्रतिशत स्वामित्व रहेको छ। अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंह हुन्।
अस्पतालले दीर्घकालीन र अल्पकालीन गरी कुल २ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ। यसमध्ये २ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ दीर्घकालीन तथा ५ करोड ८ लाख रुपैयाँ अल्पकालीन कर्जासँग सम्बन्धित रहेको जनाएको छ।











