बलियो दाबी व्यवस्थापनपछि ट्रस्ट माइक्रो इन्स्योरेन्सको रेटिङ यथावत्, निगरानी सूचीबाट हटाइयो

१२ श्रावण २०८३, मंगलवार १२:२२

काठमाडौँ । ट्रस्ट माइक्रो इन्स्योरेन्सको जारीकर्ता क्रेडिट रेटिङ यथावत् कायम भएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको जारीकर्ता क्रेडिट रेटिङ ‘आईआरएन डबल बी माइनस (जारीकर्ता)’लाई पुनः पुष्टि गर्दै यसलाई नकारात्मक प्रभावसहितको निगरानी सूचीबाट हटाएको हो। यस स्तरको रेटिङ प्राप्त संस्थालाई आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका हिसाबले जोखिममुक्त रहेको मानिन्छ ।

इन्फोमेरिक्सका अनुसार सन् २०२५ सेप्टेम्बरमा भएको ठूलो दंगापछि उत्पन्न दाबी भुक्तानी व्यवस्थापन गर्ने कम्पनीको क्षमता अपेक्षाभन्दा बलियो देखिएकाले रेटिङलाई यथावत् राख्दै निगरानी सूचीबाट हटाइएको हो। कम्पनीको पर्याप्त तरलता, सन्तोषजनक वित्तीय अवस्था तथा दाबी व्यवस्थापन गर्ने क्षमतामा आएको स्पष्ट सुधारका कारण यो निर्णय गरिएको प्रतिवेदनमा उल्लेख छ।

सन् २०२६ जुलाई १५ सम्म कम्पनीमा ११ वटा दाबीमार्फत करिब ७ करोड १५ लाख रुपैयाँ बराबरको कुल दाबी परेको थियो। तीमध्ये कम्पनीले करिब ३० देखि ३५ प्रतिशत जोखिम आफैं वहन गरेको छ। मूल्याङ्कनकर्ता र सर्वेक्षकको अन्तिम प्रतिवेदनपछि पुनर्बीमकको हिस्सा बाहेक कम्पनीको वास्तविक दायित्व करिब १ करोड ९७ लाख रुपैयाँ रहने व्यवस्थापनको अनुमान छ।

दाबी भुक्तानीका लागि कम्पनीको वित्तीय आधार पर्याप्त रहेको पनि प्रतिवेदनले देखाएको छ। २०२५ असार मध्यसम्म कम्पनीको सोल्भेन्सी मार्जिन १.९८ गुणा रहेको छ, जुन नियामकीय न्यूनतम १.३० गुणाभन्दा उल्लेख्य रूपमा माथि हो। यसका साथै प्रारम्भिक सार्वजनिक निष्कासनमार्फत करिब २२ करोड ५० लाख रुपैयाँ नयाँ पूँजी भित्रिने अपेक्षाले कम्पनीको पूँजी आधार र सोल्भेन्सी अवस्था थप सुदृढ हुने विश्वास गरिएको छ।

इन्फोमेरिक्सले कम्पनीको प्रभावकारी पुनर्बीमा व्यवस्था, पर्याप्त मौज्दात तरलता, अनुभवी तथा स्रोतसाधन सम्पन्न संस्थापक समूह, दक्ष व्यवस्थापन टोली, विस्तार हुँदै गएको सेवा सञ्जाल र सुदृढ बन्दै गएको लगानी संरचनालाई रेटिङका प्रमुख सकारात्मक आधारका रूपमा उल्लेख गरेको छ। प्रतिवेदनअनुसार कम्पनीले ठूलो दाबीको अवस्थासमेत सहज रूपमा व्यवस्थापन गर्न सक्ने क्षमता विकास गरेको छ।

कम्पनीको स्वामित्व संरचना पूर्ण रूपमा संस्थापक लगानीकर्ताको हातमा रहेको छ। प्रमुख संस्थापक लगानीकर्तामध्ये सफारी इन्भेष्टमेन्ट प्रालि र विप्रो फिनकर्प प्रालिको करिब २१.४३–२१.४३ प्रतिशत, रिजेन्सी फिनकर्प प्रालिको करिब १५.४२ प्रतिशत तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १० प्रतिशत स्वामित्व रहेको छ। यसबाहेक जनार्दन देव पन्तको करिब ३.५२ प्रतिशत र जगतबहादुर पोखरेलको करिब २.१९ प्रतिशत स्वामित्व रहेको छ।

व्यवस्थापनतर्फ प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले कम्पनीको नेतृत्व गरिरहेका छन्।  कम्पनीले बीमित ग्राहकको दायरा विस्तार गर्ने, जोखिमलाई विविधीकरण गर्ने तथा दाबी अनुपातलाई सन्तुलित राख्ने रणनीतिअनुसार आफ्नो सेवा सञ्जाल पनि निरन्तर विस्तार गरिरहेको छ। कम्पनीले केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय र शाखा कार्यालयसहित १५ वटा मुख्य कार्यालय सञ्चालन गरेको छ। यसबाहेक १६ वटा उपशाखा र १५ वटा विस्तारित सेवा काउन्टर गरी कुल ३३ वटा सेवा केन्द्रमार्फत देशका विभिन्न क्षेत्रमा सेवा प्रवाह गरिरहेको छ। यसले कम्पनीको भौगोलिक पहुँच विस्तार हुनुका साथै सेवाग्राहीसम्म बीमा सेवा सहज रूपमा पुर्‍याउने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

ठूला जोखिम व्यवस्थापनका लागि कम्पनीले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन पुनर्बीमा लिमिटेडसँग पुनर्बीमा सम्झौता गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रत्येक दाबी रकमको ४–४ प्रतिशत हिस्सा यी दुवै पुनर्बीमा कम्पनीलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको थियो। साथै हिमालयन पुनर्बीमा लिमिटेडसँग सम्पूर्ण कारोबारमा आधारित कोटा–शेयर पुनर्बीमा सम्झौताअन्तर्गत प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएका कारोबार, सवारीसाधन बीमा तथा विशेष जोखिमयुक्त बीमा योजनाबाहेक बाँकी सबै लागू हुने बीमा योजनाको ६० प्रतिशत जोखिम पुनर्बीमामा हस्तान्तरण गरिन्छ। कम्पनीको पुनर्बीमामा हस्तान्तरण गरिएको कारोबार आर्थिक वर्ष २०८१/८२ मा करिब ३६ प्रतिशत र गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म करिब ४० प्रतिशतमा सीमित रहेको छ। यसले ठूलो दाबी पर्दा कम्पनीको पुँजी, सञ्चिति कोष र सञ्चालन क्षमतामा अनावश्यक दबाब नपर्ने तथा वित्तीय स्थायित्व कायम राख्न सहयोग पुग्ने प्रतिवेदनमा उल्लेख छ।

लगानी व्यवस्थापनतर्फ पनि कम्पनीले सन्तुलित र सावधानीपूर्ण रणनीति अवलम्बन गरेको छ। सन् २०२६ अप्रिल मध्यसम्म कम्पनीको कुल लगानी करिब ५७ करोड ४० लाख रुपैयाँ पुगेको छ जुन आर्थिक वर्ष २०८०/८१ को करिब ४८ करोड ८० लाख रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ को करिब ५४ करोड ४० लाख रुपैयाँको तुलनामा वृद्धि भएको हो। कम्पनीले सुरुआती चरणमा वाणिज्य बैंकका छोटो अवधिका मुद्दती निक्षेपमा मात्रै लगानी गरेको भए पनि पछिल्लो समय विकास बैंक, वित्त कम्पनी, सेयर तथा ऋणपत्रजस्ता दीर्घकालीन साधनमा समेत लगानी विस्तार गर्दै पोर्टफोलियोलाई विविधीकरण गरेको छ। आगामी दिनमा लगानीबाट प्राप्त प्रतिफल, लगानीको गुणस्तर तथा दीर्घकालीन कार्यसम्पादन कम्पनीको रेटिङ मूल्याङ्कनका प्रमुख आधार रहने इन्फोमेरिक्सले जनाएको छ।

२०२६ अप्रिल मध्यसम्म कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*