ऋणको बोझले थिचिएका लघुवित्तपीडित माइतीघरमा आमरण अनशनमा

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत लघुवित्तपीडितहरूले मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका छन्। यसअघि आइतबार ‘राजधानी मार्च’ आयोजना गरेर सरकारको ध्यानाकर्षण गराएका उनीहरूले आफ्ना मागप्रति राज्य गम्भीर नबनेको भन्दै थप दबाबस्वरूप आमरण अनशन थालेका हुन्।
अनशनमा बसेका पीडितहरूले लघुवित्त क्षेत्रसँग सम्बन्धित विगतमा तयार भएका अध्ययन तथा सुझावसहितका प्रतिवेदन सार्वजनिक गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले लघुवित्त संस्था, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्नुपर्ने, चर्को तथा चक्रवर्ती ब्याज हटाउनुपर्ने तथा विभिन्न शीर्षकमा असुल गरिँदै आएका हर्जना र अतिरिक्त शुल्क खारेज गर्नुपर्ने बताएका छन्।
त्यस्तै, जग्गा धितो लिलामी गर्ने प्रक्रिया रोक्न, ऋणीलाई कालोसूचीमा राख्ने कार्य बन्द गर्न तथा अन्यायपूर्ण रूपमा भइरहेको ऋण असुलीका विषयमा निष्पक्ष न्यायिक निरुपणको व्यवस्था गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन्।











