तार व्यवस्थापन र भूमिगत पूर्वाधारमा सरकारको अनुगमन, समयमै काम सक्न निर्देशन

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अव्यवस्थित तार व्यवस्थापन तथा भूमिगत पूर्वाधार निर्माणमा ऊर्जा र सञ्चारमन्त्री सहितको संयुक्त टीमले स्थलगत अनुगमन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराज भक्त श्रेष्ठ सहितको संयुक्त बैठकमा भएको सल्लाह र सहमतिअनुसार उक्त अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा अव्यवस्थित तथा प्रयोगविहीन तारले शहरको सौन्दर्यमा असर पार्नुका साथै नागरिक सुरक्षामा समेत चुनौती सिर्जना गरेको निष्कर्ष निकालिएको छ । आगलागीलगायत सम्भावित जोखिम न्यूनीकरण गर्दै व्यवस्थित, सुरक्षित र आधुनिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको जनाइएको छ ।
यसका लागि सम्बन्धित सबै निकायलाई निर्धारित समयसीमाभित्र तार व्यवस्थापन र भूमिगत पूर्वाधार निर्माणको काम सम्पन्न गर्न निर्देशन दिइएको छ ।











