एनसेलले सर्वसाधारणको खाताबाट अनधिकृत रुपमा ब्यालेन्स काट्दै, नियामक निकाय मुकदर्शक

१२ श्रावण २०८३, मंगलवार १४:०४

काठमाडौँ । मोबाइल डेटा पूर्ण रूपमा बन्द गरेर वाई फाई प्रयोग गरिरहेका बेला पनि ग्राहकको मेन ब्यालेन्सबाट निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले धमाधम रकम काटी रहेको तथ्य बाहिर आएको छ । ग्राहकलाई कुनै जानकारी नै नदिई कम्पनीले अनधिकृत इन्टरनेट शीर्षकमा रकम असुली रहेको रहेको पाइएको हो ।

मोबाइल डेटाको स्विच अफ गरेर केवल वाई फाईमार्फत इन्टरनेट प्रयोग गरिरहेकै अवस्थामा पनि कम्पनीले मेन ब्यालेन्सबाट रकम कटिरहेको हो । महिनौँदेखि स–सानो रकम काट्ने गरेको हुँदा ग्राहकले एनसेल चलाइरहेको लुट धन्दामा ध्यान पुराउन सकेका थिएनन् । मोबाइल डेटा ०.०० एमबी खपत हुँदा पनि कम्पनीले इन्टरनेटका नाममा रकम असुली गर्दै ठगी सञ्चालन गरी रहेको हो ।

ग्राहकहरूको चौतर्फी विरोध सुरु भए पनि अन्ततः एनसेलले उक्त समस्या भएको स्वीकार गरेको छ । पछिल्ला केही समयदेखि ग्राहकहरूले सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यमबाट चर्को आलोचना गर्ने थालेपछि एनसेलले विज्ञप्ति जारी गर्दै डेटा सेवासम्बन्धी अतिरिक्त शुल्क कटौती भएको स्वीकार गरेको हो ।

विज्ञप्तिमा कम्पनीले भनेको छ, ‘ग्राहकहरुबाट डेटा सेवामा अतिरिक्त शुल्क कटौती भएको भन्ने गुनासोबारे हाम्रो गम्भीर ध्यानाकर्षण भई यस सम्बन्धमा विस्तृत अध्ययन गरिएको जानकारी गराउन चाहन्छौँ । यो समस्या प्राविधिक कारणले उत्पन्न भएको पुष्टि भएको र सोहीअनुसार आवश्यक नियन्त्रणात्मक उपायहरू अवलम्बन गरि सकिएको छ ।’

यद्यपि कम्पनीले अहिले समस्या स्वीकार गरे पनि यस्तो अवस्था महिनौँदेखि कायम रहेको छ । एनसेल महिनौँदेखि ग्राहकलाई गुमराहमा राख्दै ब्यालेन्स मार्फत ठगी गर्दै आइरहेको थियो । ग्राहकको मेन ब्यालेन्सबाट दैनिक वा केही दिनको अन्तरालमा थोरै रकम कट्दा त्यसले ठुलो चर्चा पाएन । तर जब धेरै ग्राहकले एउटै प्रकारको अनुभव सार्वजनिक गर्न थाले त्यसपछि मात्रै यो विषय व्यापक रूपमा बाहिर आएको हो ।

एनसेलले अहिले प्राविधिक समस्या समाधान भएको र प्रभावित ग्राहकको रकम फिर्ता गरिएको दाबी गरेको छ । तर, महिनौँदेखि कम्पनीले असुली रहेको अनधिकृत रकम फिर्तामा भने ध्यान दिएको छैन । कम्पनीले वास्तविक रूपमा कति ग्राहक प्रभावित भए, कति रकम अनधिकृत रूपमा कट्यो, समस्या कहिलेदेखि सुरु भयो सार्वजनिक समेत गरेको छैन । तत्काल अवैध रूपमा काटिएको रकम फिर्ता गरे पनि महिनौँदेखि काटी रहेको रकम एनसेलले फिर्ता गरेको छैन ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ । दूरसञ्चार सेवा प्रदायकको बिलिङ प्रणाली नियमित रूपमा अनुगमन हुने व्यवस्था रहे पनि महिनौँसम्म एनसेलले गरी रहेको ठगी धन्दामा पनि प्राधिकरण मौन रहेको छ । नियमन गर्नुपर्ने प्राधिकरणको प्रभावमा चुर्लुमै डुब्दा एनसेल जस्ता कम्पनीलाई ठगी गर्ने लाइसेन्स नै प्राप्त हुने गरेको छ ।

यता, दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीन प्रसाद अर्यालले भने अनुसन्धान गरी रहेको दोषी भेटिए कानुनसम्मत कारबाही हुने बताए । बीमापोष्टसँग कुरा गर्दै उनले भने, ‘सो विषयमा प्राधिकरणले अनुसन्धान र छलफल गरी रहेको छ । हिजो मात्रै एउटा गुनासो समेत प्राप्त भएको छ । प्राधिकरण गरी रहेको अनुसन्धानमा एनसेल गल्ती भेटियो भने हामी कानुन सम्मत कारबाही अगाडी बढाउँछौँ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*