एम्बुलेन्सको दुरुपयोग गरी १५ लाख भ्रष्टाचार, पूर्व वडाध्यक्षमाथि मुद्दा

काठमाडौं । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ५ का पूर्व वडाध्यक्ष विजय कुमार यादवविरुद्ध एम्बुलेन्सको दुरुपयोग गरी १५ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भारत सरकारको सहयोगमा निःशुल्क प्राप्त भएको एम्बुलेन्सलाई वडा कार्यालयको जिन्सी अभिलेखमा आम्दानी नबाँधी आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरिएको पाइएको छ । एम्बुलेन्सबाट प्राप्त आम्दानी, खर्च तथा सेवा सञ्चालनसम्बन्धी लगबुक वा हिसाबकिताबसमेत पालिकामा पेश नगरी निजी सवारीसरह प्रयोग गरिएको आयोगको निष्कर्ष छ ।
अनुसन्धानका क्रममा पूर्व वडाध्यक्ष यादवले एम्बुलेन्सलाई तीन वर्ष पाँच महिनासम्म सञ्चालन गर्दै ३० हजार १८५ किलोमिटर गुडाएको देखिएको छ । तर कति सेवा निःशुल्क दिइयो, कति सेवामा शुल्क उठाइयो र इन्धन खर्च कति भयो भन्ने पुष्टि हुने कुनै अभिलेख नराखिएको आयोगले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी धनुषाले सार्वजनिक गरेको एम्बुलेन्स सेवाको जिल्ला दररेटका आधारमा सार्वजनिक सम्पत्तिमा १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको हिनामिना तथा हानिनोक्सानी भएको अख्तियारले निष्कर्ष निकालेको हो ।
अनुसन्धानका क्रममा कानुनी कारबाहीबाट उन्मुक्ति पाउने उद्देश्यले पूर्व वडाध्यक्ष यादवले ३ लाख ८१ हजार ५९७ रुपैयाँ दाखिला गरेको देखिएकाले उक्त रकम कटाएर बाँकी रहने ११ लाख २७ हजार ६५३ रुपैयाँ असुलउपर गर्नसमेत आयोगले विशेष अदालतसँग माग गरेको छ।











