खाद्य गुणस्तरमा लापरवाही: चार उद्योगविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । न्यूनस्तरका खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा चार उद्योगविरुद्ध पाँच वटा मुद्दा दर्ता गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको जनाएको हो ।
कार्यालयका अनुसार पूर्वी चितवनको रत्ननगरस्थित रिजाल फुड्स एण्ड बेभरेजविरुद्ध दुई वटा मुद्दा दर्ता गरिएको हो। उद्योगले उत्पादन गर्ने दालमोठ र नमकीन मिक्स्चरको गुणस्तर न्यून रहेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
यस्तै, खैरहनीस्थित ओमकार आयल इन्डष्ट्रिजले उत्पादन गरेको तोरीको तेल मापदण्डअनुसार गुणस्तरीय नभेटिएपछि एक मुद्दा दर्ता गरिएको छ। भरतपुरस्थित नौलो फुड्स इन्डष्ट्रिजले उत्पादन गर्ने सिटिसी चिया असला तथा रत्ननगरस्थित आचार्य फुड उद्योगले उत्पादन गर्ने चुक अमिलोको गुणस्तरमा समेत कमजोरी भेटिएपछि ती उद्योगविरुद्ध पनि एक–एक वटा मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकी सूचना अधिकारी वन्दना पन्तले जानकारी दिइन्।
डिभिजन कार्यालयले गत आर्थिक वर्षमा खाद्य स्वच्छतासम्बन्धी आकस्मिक अनुगमन १० पटक, खाद्य बजार अनुगमन ९२ पटक, दाना बजार अनुगमन २० पटक तथा होटल र रेष्टुराँ अनुगमन ६३ पटक गरेको जनाएको छ। यस अवधिमा ८७ वटा खाद्य उद्योग र २२ वटा दाना उद्योगको समेत अनुगमन गरिएको थियो।
त्यसैगरी हाटबजार तथा मेला–महोत्सवमा चार पटक, आहार पूरक खाद्यपदार्थमा ११ पटक तथा विद्यालय र अस्पतालका क्यान्टिनमा आठ पटक अनुगमन गरिएको कार्यालयले जनाएको छ।











