सुस्त पुँजी बजारः अर्थमन्त्रीको सक्रियता बन्दै असफल, किन फर्किरहेको छैन उत्साह ?

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकल अंकले घट्दा शेयर बजारमा पुनः निराशा छाएको छ । दिनभर उतारचढावपूर्ण कारोबार भए पनि अन्त्यतिर बिक्री दबाब बढेपछि सूचक ओरालो लागेको हो । कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेकाले बजारमा लगानीकर्ताको आत्मविश्वास अझै पूर्ण रूपमा फर्किन नसकेको संकेत देखिएको छ ।
पछिल्ला केही सातादेखि बजारले स्पष्ट दिशा लिन नसक्दा दीर्घकालीन लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा रहेको देखिन्छ भने सीमित ट्रेडरको सक्रियताले मात्रै दैनिक कारोबारलाई चलायमान बनाइरहेको अवस्था छ । यसरी साताकै सुरुआतमै बजारमा आएको उल्लेखनीय गिरावटले आगामी कारोबार दिनहरूमा पनि मनोवैज्ञानिक दबाब कायम रहने विश्लेषण गरिएको छ ।
यता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका क्रममा नियामकीय गुणस्तर सुधार, पारदर्शिता अभिवृद्धि तथा पुँजी बजारको दिगो विकासका लागि बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । सरकारले पुँजी बजार सुधारलाई प्राथमिकतामा राखेको सन्देश दिए पनि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिन सकेको छैन। लगानीकर्ताले नीतिगत प्रतिबद्धताभन्दा पनि व्यवहारमा देखिने सुधार, समयमै निर्णय, नयाँ वित्तीय उपकरणको विकास तथा लगानीमैत्री वातावरणको अपेक्षा गरिरहेका छन्। नीतिगत घोषणा र बजारको वास्तविक मनोविज्ञानबीच अझै दूरी रहेकाले सूचकमा सकारात्मक प्रभाव तत्काल देखिन नसकेको विश्लेषकहरूको भनाइ छ ।
बजारको संरचना हेर्दा हाल पनि डिबेञ्चरहरूमा उल्लेखनीय कारोबार भइरहेको छ । संस्थागत लगानीकर्ता तुलनात्मक रूपमा सुरक्षित प्रतिफल दिने उपकरणतर्फ आकर्षित भइरहेका छन् भने इक्विटी बजारमा अपेक्षित सहभागिता देखिएको छैन । बलियो वित्तीय अवस्था, स्थिर नाफा र राम्रो आधारभूत पक्ष भएका कम्पनीहरूको सेयर मूल्यसमेत उल्लेखनीय रूपमा चलायमान हुन नसक्दा बजारमा नयाँ ऊर्जा आउन सकेको छैन । विश्लेषकहरूका अनुसार दीर्घकालीन रूपमा बजारलाई माथि लैजान फन्डामेन्टल रूपमा सक्षम कम्पनीहरूमा लगानी बढ्नु, संस्थागत सहभागिता विस्तार हुनु तथा कारोबारको दायरा फराकिलो बन्नु आवश्यक छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अकंले घटेर २६९६.६७ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोठ ७३ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ४ उपसूचकमा सामान्य सुधार देखिएको छ भने ९ उपसूचक राताम्य भएका छन् । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६६ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।












