प्रेस स्वतन्त्रता र पत्रकारको अधिकार सुनिश्चित गर्न बालेनलाई पत्रकार महासंघको सातबुँदे ज्ञापनपत्र

१२ श्रावण २०८३, मंगलवार १६:१०

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा मातहतका काठमाडौं, ललितपुर र भक्तपुर शाखाले प्रेस विभिन्न माग गर्दै बालेनलाई सातबुँदे ज्ञापनपत्र बुझाएका छन् । सोमबार जिल्ला हुलाक कार्यालय, ललितपुरमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र पठाइएको हो ।

महासंघले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनमा लगाइएको प्रतिबन्ध सर्वोच्च अदालतको आदेशबाट खारेज भएकोप्रति स्वागत गर्दै सरकारबाट त्यसको प्रभावकारी कार्यान्वयन अझै हुन नसकेकोप्रति ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल असर पार्ने नीति, निर्णय र अभ्यासको पुनरावलोकन गरी संवैधानिक मर्मअनुसार सुधार गर्न, सञ्चार क्षेत्रसँग सम्बन्धित ऐन, नियम, नीति तथा संस्थागत संरचनाको शीघ्र निर्माण, संशोधन र कार्यान्वयन गर्न माग गरिएको छ ।

त्यस्तै श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, पत्रकारहरूको श्रम अधिकार, सामाजिक सुरक्षा र बीमा व्यवस्था सुनिश्चित गर्न तथा समानुपातिक विज्ञापन नीतिको प्रभावकारी कार्यान्वयनमार्फत साना, सामुदायिक र स्वरोजगारमुखी सञ्चार माध्यमको संरक्षण र प्रवद्र्धनका लागि विशेष नीति अवलम्बन गर्न आग्रह गरिएको छ ।

महासंघले सर्वोच्च अदालतको आदेशबमोजिम निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन वितरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न, सञ्चारगृह तथा पत्रकारमाथि हुने धम्की, दबाब, हस्तक्षेप र आक्रमणका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न पनि सरकारसँग माग गरेको छ ।

साथै डिजिटल सञ्चार र कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका नयाँ चुनौतीलाई सम्बोधन गर्ने आधुनिक सञ्चार नीति तर्जुमा गर्न सरोकारवालासँग व्यापक परामर्श गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

महासंघले सरकारसँग टकराव नभई संविधान, लोकतन्त्र र प्रेस स्वतन्त्रताको साझा मूल्यको संरक्षणका लागि सहकार्य र संवादको पक्षमा रहेको स्पष्ट गर्दै ज्ञापनपत्रमा उल्लेखित विषयमा बालेनबाट आवश्यक पहल हुने विश्वास पनि व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*