नेपालभर राष्ट्रिय एआई शिक्षा शुरु गर्न क्यान महासंघ र महर्षि कलेजबीच साझेदारी

१२ श्रावण २०८३, मंगलवार १७:३९

काठमाडौं । नेपालको डिजिटल इकोसिस्टमलाई तीव्रताका साथ अगाडि बढाउन कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महर्षि कलेज बीच पाँच वर्षको रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सहकार्यको मुख्य उद्देश्य कृत्रिम बौद्धिकता (एआई) र भविष्यका लागि आवश्यक प्रविधि सीपहरू नेपालका सातै प्रदेशका युवा नेपालीहरूका माझ पुर्‍याउनु भएको क्यान महासंघले जनाएको छ । अत्याधुनिक प्रविधि शिक्षा अब केबल पाठ्यपुस्तकहरूमा सीमित र काठमाडौं उपत्यकामा मात्रै केन्द्रित नभई गतिशील तथा युवा–केन्द्रित अभियानले कक्षा कोठाको सिकाई र वास्तविक प्रविधि उद्योग बीचको खाडललाई पुर्दै विद्यार्थीहरूलाई प्रविधिको सामान्य उपभोक्ताबाट डिजिटल इनोभेटरको रूपमा रूपान्तरण गर्न डिजाइन गरिएको छ ।

पाँच वर्षको यो रणनीतिक योजना विद्यार्थी र युवा प्रविधि उत्साहीहरूका लागि लक्षित व्यावहारिक अवसरहरूले भरिपूर्ण भएको र यसमा आधारभूतदेखि उन्नत तह सम्मको कोडिङ सीप विकास गर्न तीव्र गतिमा सञ्चालन हुने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछ । त्यसैगरी युवाहरूले टोली बनाएर वास्तविक जीवनका एआई समाधानहरू निर्माण गर्न र आफ्ना प्रतिभाहरू प्रदर्शन गर्न पाउने रचनात्मक प्रतियोगिताहरू पनि सञ्चालन हुनेछ ।

विद्यार्थीहरूका उत्कृष्ट प्रविधि विचारहरूलाई बजारमा लैजान लायक व्यावसायिक उद्यममा परिणत गर्न मद्दत गर्ने मार्गदर्शन र स्रोतहरू भएको र शिक्षकहरूलाई आधुनिक प्रविधि पाठ्यक्रमहरूसँग दक्ष बनाउँदै उनीहरूले नयाँ पुस्ताका डिजिटल परिवर्तनकारीहरूलाई अझ राम्रोसँग मार्गदर्शन गर्न सक्ने बनाउने पनि क्यानले जनाएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कवर प्रा.लि. का संस्थापक सीईओ चिरञ्जीबी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले संयुक्त रूपमा यस समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

“यो साझेदारी भनेको अवरोधहरू पन्छाएर हाम्रा युवाहरूको वास्तविक सम्भावनालाई बाहिर ल्याउनु हो ।” क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीबी अधिकारीले भने । “हामी चाहन्छौं कि युवा नेपालीहरूले एआईको प्रयोग मात्र नगरून् उनीहरू आफैं यसको निर्माण गरून्, यसलाई आकार दिऊन् र विश्वव्यापी डिजिटल क्रान्तिको नेतृत्व गरून् । सातै प्रदेशमा यी बुटक्याम्प र स्टार्टअप कार्यक्रमहरू पुर्‍याएर हामी यो सुनिश्चित गर्दैछौं कि नेपालका प्रत्येक युवा दूरदर्शीले राष्ट्रिय अवसरमा आफ्नो स्थान पाऊन् ।”

“शैक्षिक ढाँचाहरूलाई व्यावहारिक उद्योग अनुभवसँग मिलाएर, हामी विद्यार्थीहरूका लागि प्रविधि क्षेत्रमा प्रवेश गर्ने प्रत्यक्ष मार्ग तयार गर्दैछौं ।” महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले थपे । “भोलिका चुनौतीहरूको सामना गर्न तयार दक्ष र प्रविधि–मैत्री जनशक्ति तयार पार्ने दिशामा यो एक साहसी कदम हो ।”

उक्त हस्ताक्षर समारोहमा क्यान महासंघका उपाध्यक्ष सुवास खड्का, केन्द्रीय सदस्य तथा शिक्षा समितिका सह–संयोजक ओंकार बस्नेत लगायत शिक्षा र प्रविधि क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*