१२ संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपबाटै हेर्न सकिने

१३ श्रावण २०८३, बुधबार ०७:१६

काठमाडौं । सरकारले देशका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत सार्वजनिक गर्न शुरु गरेको छ ।

नेपाल सरकारको शासकीय सुधार कार्यसूचीअनुसार कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागले साउन १२ गतेदेखि ‘एएमपीआईएस नेपाल’ नामक एन्ड्रोइड मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

यो एपमार्फत कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति सहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (पश्चिम), रुपन्देही, बाँके, सुर्खेत र कैलालीका संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य हेर्न सकिनेछ ।

एपमा न्यूनतम, अधिकतम र औसत मूल्य, विभिन्न बजारबीच मूल्य तुलना, कृषि उपजको मूल्य प्रवृत्ति तथा कृषि मौसमी सल्लाहसम्बन्धी जानकारी पनि उपलब्ध हुने विभागले जनाएको छ ।

कृषि विभागका अनुसार एप गुगल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिनेछ । विभागले यस प्रणालीबाट किसानले बजारको सही मूल्य जानकारी पाएर आफ्नो उत्पादन उचित मूल्यमा बिक्री गर्न सहज हुने विश्वास व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*