सुनसरी तनावपछि प्रमुख दल एकजुट, शान्ति र संयमताका लागि संयुक्त अपिल गर्ने

काठमाडौँ । सुनसरी लगायतका क्षेत्रमा विकसित तनावपूर्ण अवस्था, अशान्ति र सामाजिक तथा धार्मिक सद्भाव खलबलिने जोखिमप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रमुख राजनीतिक दलहरूले संयमता र शान्ति कायम राख्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा आयोजित सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रमुख नेताहरू सहभागी भएका थिए। बैठकमा सुनसरीको देवानगञ्ज लगायतका क्षेत्रमा विकसित घटनाक्रम, त्यसबाट उत्पन्न सुरक्षा चुनौती तथा सामाजिक सद्भाव जोगाउने उपायबारे विस्तृत छलफल भएको थियो।
बैठकपछि नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेका अनुसार समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति–सुव्यवस्था कायम राख्न सबै राजनीतिक दलहरू एकमत भएर संयुक्त अपिलस्वरूप विज्ञप्ति जारी गर्ने सहमति भएको छ। उनले नागरिकलाई आवेग र उत्तेजनामा नआई धैर्यतापूर्वक व्यवहार गर्दै समस्याको शान्तिपूर्ण समाधानतर्फ अग्रसर हुन आग्रह गरे।
बैठकमा सहभागी नेताहरूले यति संवेदनशील र गम्भीर परिस्थिति उत्पन्न हुँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीको अपेक्षित उपस्थिति तथा सक्रियता नदेखिएको भन्दै चासो व्यक्त गरेका थिए। नेकपा (एमाले) का महासचिव शंकर पोखरेल लगायतका नेताहरूले भीड नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सरकार प्रभावकारी हुन नसकेको भन्दै थप जिम्मेवार ढंगले काम गर्न सरकारलाई आग्रह गरेका छन्।











