एक वर्षमा निर्जीवन बीमकको व्यवसाय १५% ले बढ्योः अग्रस्थानमा शिखर, ग्रोथमा आक्रामक हिमालयन र एनएलजी

काठमाडौं । वर्षदिनको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले साढे ५०अर्बमाथिको ब्यवसाय गर्ने सफल भएका छन् । गत आर्थिक वर्ष २०८२÷०८३ अवधिमा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन अघिल्लो आर्थिक वर्ष २०८१।०८२ को तुलनामा १५.१२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेक थिए ।
यसअवधिमा शिखर इन्स्योरेन्सले सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेका छन् भने बृद्धिदरमा हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्स अघि रहेका छन् ।
गत आर्थिक वर्षभरी शिखर इन्स्योरेन्सले सर्वाधिक ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । कम्पनीको व्यवसाय अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.३८ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमा ब्यवसाय ८.४० प्रतिशतले बढेर ५ अर्ब ४२ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्सको ब्यवसाय सर्वाधिक वृद्धि भएको छ । हिमालयनको ब्यवसाय ३१ प्रतिशतले बढेर ५ अर्ब ३७ करोड र एनएलजीको ३७ प्रतिशतले बढेर ४ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
यता, क्रमशः सिद्धार्थ प्रिमियरको कुल बीमा शुल्क आर्जन ०.१७ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड, नेको इन्स्योरेन्सको ११.३७ प्रतिशतले बढेर ३ अर्ब ६५ करोड, , द ओरियन्टलको २० प्रतिशतले बढेर ३ अर्ब २५ करोड, युनाइटेड अजोडको ११.९५ प्रतिशतले बढेर ३ अर्ब ११ करोड, नेपाल इन्स्योरेन्सको ८.७७ प्रतिशतले बढेर २ अर्ब २१ करोड र प्रभु इन्स्योरेन्सको ८.२१ प्रतिशतले बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।
सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सले ब्यवसाय गरेको छन् । वर्षदिनको अवधिमा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड र नेशनल इन्स्योरेन्सले १ अर्ब २९ करोड कुल बीमा शुल्क आर्जन गरेका हुन् ।











