सप्तकोशी बैंकमा ढुकुटीको नगद अपचलन, नारायणीले कर्जा सीमा उल्लंघन

१३ श्रावण २०८३, बुधबार १३:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन र आन्तरिक नियन्त्रण प्रणालीमा देखिएका कमजोरीका कारण विभिन्न बैंक तथा वित्तीय संस्थाका पदाधिकारी तथा संस्थामाथि कारबाही गरेको छ।

राष्ट्र बैंकका अनुसार सप्तकोशी डेभलपमेण्ट बैंकको २०८२ असोज मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षणमा बैंकको भल्टमा रहेको नगद अपचलन भएको तथा ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच रहेको तथ्य फेला परेको थियो। यसले बैंकको आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी रहेको निष्कर्ष राष्ट्र बैंकले निकालेको छ।

घटनाबारे जानकारी प्राप्त भइसकेपछि पनि विस्तृत छानबिन गरी दोषीमाथि आवश्यक कारबाही नगरेको, आन्तरिक नियन्त्रण तथा जाँच प्रणालीका कमजोरी पहिचान गरी नीति तथा कार्यविधिमा सुधार गर्न नसकेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेललाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) अनुसार सचेत गराइएको हो।

यही प्रकरणमा बैंकका सञ्चालक समिति अध्यक्षसहित अन्य सदस्यलाई पनि संस्थाको आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउन आवश्यक सुधार नगरेको ठहर गर्दै राष्ट्र बैंकले सचेत गराएको जनाएको छ।

यस्तै, नारायणी डेभलपमेण्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विष्णु रेग्मीलाई पनि राष्ट्र बैंकले चेतावनी दिएको छ। समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा तोकिएको सर्तअनुसार एउटै ग्राहक वा आपसी सम्बन्ध भएका ग्राहक समूहलाई प्राथमिक पुँजीको अधिकतम १० प्रतिशतसम्म मात्रै कोषमा आधारित तथा गैरकोषमा आधारित सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था रहे पनि आर्थिक वर्ष २०८१/८२ मा सो सीमा नाघेर कर्जा प्रवाह गरिएको निरीक्षणबाट देखिएको राष्ट्र बैंकले जनाएको छ।

यसैबीच, रिलायन्स फाइनान्सले २०८२ फागुन १० गतेदेखि २०८३ वैशाख ५ गतेसम्म अनिवार्य मौज्दात रकम कायम नगरेको पाइएपछि प्रचलित व्यवस्थाअनुसार २ हजार ९२४ रुपैयाँ जरिवाना तिराइएको राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*