भक्तपुर सडक डिभिजनका इन्जिनियरको २ करोड २६ लाख अकुत सम्पत्ति, अन्ततः अख्तियारको फन्दामा

१३ श्रावण २०८३, बुधबार १३:५८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध गैरकानुनी रूपमा अकुत आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार चौधरीको २०६५ पुस ११ गतेदेखि २०८२ असार २९ गतेसम्मको आय–व्ययको अनुसन्धान गर्दा वैधानिक आम्दानी २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ रहेको देखिएको छ । तर सोही अवधिमा जग्गा, घर, सवारीसाधन, बिमा, अध्ययन, शेयर, घर निर्माण, बैंक मौज्दातलगायत शीर्षकमा कुल ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ खर्च तथा लगानी गरेको भेटिएको छ ।

अनुसन्धानबाट चौधरीको कुल खर्च वैधानिक आम्दानीभन्दा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ बढी देखिएको छ भने उनले उक्त रकमको स्रोत पुष्टि गर्न नसकेपछि उनले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको निष्कर्ष निकालेर अख्तियारले मुद्दा चलाएको हो ।

साथै उनले सम्पत्ति विवरण बुझाउँदा वास्तविक सम्पत्ति लुकाई झुट्टा विवरण पेस गरेको पनि अनुसन्धानबाट खुलेको छ । उनलाई अख्तियारले २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ बिगो कायम गरी सोही बमोजिम कैद र जरिवानाको माग गरेको छ ।

यसैगरी चौधरीले आर्जन गरेको अकुत सम्पत्ति लुकाउने उद्देश्यले श्रीमती अर्पना कुमारीको नाममा पनि खर्च गरेको अनुसन्धानमा खुलेपछि श्रीमतीको नाममा रहेका स्रोत नखुलेका सम्पत्तिसमेत जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाएर आयोगले मुद्दा चलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*