सरकारका प्रयास शेयर बजारमा असफलः फेरी ओरालो यात्रामा मार्केट, अझै गिरावटको डर !

काठमाडौँ । पछिल्ला केही दिनदेखि सुधारको संकेत देखाएको नेपाली शेयर बजार फेरि लगातार ओरालो लाग्न थालेको छ । बालेन शाहसँग शेयर बजारका लगानीकर्ताको भेटवार्ता भएपछि बजारमा सकारात्मक अपेक्षा बढेको थियो र केही दिन सूचकमा सुधार पनि देखिएको थियो । तर त्यो उत्साह टिक्न नसक्दा बजार लगातार तेस्रो कारोबार दिन पनि घटेको छ । सूचकसँगै कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेकाले लगानीकर्ताको आत्मविश्वास अझै पूर्ण रूपमा फर्किन नसकेको संकेत देखिएको छ । बजारमा निरन्तर देखिएको उतारचढावले विशेषगरी साना तथा नयाँ लगानीकर्ताको मनोबल कमजोर बनाएको विश्लेषण गरिएको छ ।
शेयर बजारमा सकारात्मक वातावरण निर्माण गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले पछिल्लो समय सक्रिय देखिएका छन् । उनले विभिन्न सार्वजनिक कार्यक्रममा बजार सुधारप्रति सरकार प्रतिबद्ध रहेको र लगानीकर्ताको विश्वास बढाउने नीतिगत कदम अघि बढाइने बताउँदै आएका छन् । यद्यपि सरकारका सकारात्मक अभिव्यक्ति र प्रतिबद्धताले मात्रै बजारलाई दीर्घकालीन रूपमा माथि उकास्न सकेको छैन । लगानीकर्ताले नीतिगत स्पष्टता, कार्यान्वयन र बजारमा वास्तविक तरलता सुधारको अपेक्षा गरिरहेका बेला त्यसअनुसारको प्रभाव बजारमा देखिन नसकेको टिप्पणी हुन थालेको छ ।
पछिल्ला केही सातादेखि बजारले स्पष्ट दिशा लिन नसक्दा दीर्घकालीन लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बसेका छन्। बजारमा सीमित ट्रेडरको सक्रियताले मात्रै दैनिक कारोबारलाई चलायमान बनाइरहेको देखिन्छ भने संस्थागत तथा ठूला लगानीकर्ता अझै नयाँ लगानी विस्तार गर्न हिच्किचाइरहेका छन्। अर्कोतर्फ साना लगानीकर्ताको सीमित क्षमताले बजारलाई बलियो उकालो दिन नसकेको अवस्था छ। साताको सुरुआतमै देखिएको उल्लेखनीय गिरावटले आगामी कारोबार दिनमा समेत मनोवैज्ञानिक दबाब कायम रहने अनुमान गरिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अकंले घटेर २६८८.८८ बिन्दुमा कायम भएको छ । आज ३४३ कम्पनीको ९७ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूतक राताम्य भएका छन् भने २ उपसूचकमा मात्रै सामान्य सुधार देखिएको हो । आज सर्वाधिक फाइनान्स कम्पनीको शेयर मूल्य घटेको छ ।
बुधबार ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।












