विद्युत् महसुल पुनरावलोकनसँगै आयोजनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विद्युत् महसुल पुनरावलोकन तथा विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका आयोजनाको छानबिन गर्न दुई छुट्टाछुट्टै उच्चस्तरीय समिति गठन गरेको छ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले उपभोक्तालाई सहुलियत उपलब्ध गराउने, उत्पादित विद्युत्को अधिकतम उपयोग सुनिश्चित गर्ने तथा संस्थागत पारदर्शिता कायम गर्ने उद्देश्यले समितिहरू गठन गर्ने निर्णय गरेको हो।
विद्युत् महसुल पुनरावलोकनका लागि सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिलाई घरायसी उपभोक्ताका लागि सहुलियतयुक्त महसुल निर्धारण, उत्पादनमूलक उद्योगलाई उपयुक्त दरमा विद्युत् उपलब्ध गराउने तथा नयाँ महसुल संरचनासहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्ने कार्यादेश दिइएको छ।
समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिसहित ऊर्जा, उपभोक्ता तथा वित्त क्षेत्रका विज्ञ सदस्य रहेका छन्। सदस्य सचिवको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकलाई दिइएको छ।
यस्तै, प्राधिकरणबाट विगतमा भएका खरिद प्रक्रिया तथा सञ्चालित आयोजनासम्बन्धी प्राप्त उजुरी र गुनासोको छानबिन गर्न सञ्चालक समिति सदस्य शम्भु केसीको संयोजकत्वमा अर्को उच्चस्तरीय समिति गठन गरिएको छ।











