सुनसरी घटना साम्य भएपछि बालेन शाह सक्रिय, सुरक्षा निकायसँग विस्तृत ब्रिफिङ

काठमाडौँ । सुनसरीमा साउन ११ गते भएको गोलीकाण्ड र त्यसपछिको शान्ति–सुरक्षाको अवस्थाबारे घटना भएको दुई दिनपछि वालेन्द्र (बालेन) शाह सक्रिय भएका छन्। सुनसरीमा एक जनाको मृत्यु हुने गरी भएको घटनापछि उत्पन्न सुरक्षा अवस्थाबारे उनले गृह मन्त्रालय र सुरक्षा निकायका उच्च अधिकारीहरूसँग विस्तृत ब्रिफिङ लिएका हुन्।
हाल सो क्षेत्रमा कर्फ्यु आदेश जारी रहे पनि नेपाली सेनाले सुरक्षा अवस्थालाई नियन्त्रणमा लिएको बताइएको छ। अवस्था क्रमशः सामान्य बन्दै गएपछि शाहले पछिल्लो सुरक्षा परिस्थिति, सम्भावित चुनौती र जोखिमका विषयमा जानकारी लिएका हुन्।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरी सुनसरीको पछिल्लो वस्तुस्थितिबारे विस्तृत ब्रिफिङ लिएका थिए।
ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको अवस्था पूर्ण रूपमा नियन्त्रणमा लिन, आम नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न हुन सक्ने तत्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्।
उनले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै पनि प्रकारको सम्झौता नगर्न स्पष्ट निर्देशन दिँदै गृह मन्त्रालय मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ परिचालन गर्न समेत निर्देशन दिएका छन्।











