सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

१४ श्रावण २०८३, बिहीबार ११:३३

काठमाडौँ । नेकपा एमालेले सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछिको तनावका विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै बालेन शाह र गृहमन्त्री सुधन गुरुङले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले देशमा यति ठूलो घटना हुँदा प्रधानमन्त्रीको भूमिका अस्पष्ट रहेको भन्दै सरकार शान्ति सुरक्षा कायम गर्नभन्दा पनि त्रास सिर्जना गर्नतर्फ केन्द्रित भएको बताइन् ।

प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनालाई उल्लेख गर्दै उनले विगतमा यस्तै घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा तथा कानुनी कारबाहीको माग गर्नेहरूले अहिले पनि समान मापदण्ड अपनाउनुपर्ने बताइन्। अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने धारणा राखिन्।

उनले सबै सरोकारवाला, धार्मिक अभियन्ता तथा सर्वसाधारणलाई धैर्य र संयमता अपनाउन आग्रह गर्दै उत्तेजना, आवेग र प्रतिशोधको बाटो नसमात्न आह्वान गरिन्। शान्ति र सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।

देशमा तनावको अवस्था सिर्जना भइरहँदा प्रधानमन्त्री जनतामाझ नदेखिएको भन्दै अर्यालले नेतृत्व संकटका बेला जनताको बीचमा उपस्थित हुनुपर्ने बताइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*