विद्युत् पोल भाडा बक्यौता असुली अघि बढ्यो, वर्ल्डलिंकले तिर्यो रकम

काठमाडौँ । लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ। यससँगै इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ।
वर्ल्डलिंकले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाको आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपश्चात् भुक्तानी प्रक्रिया अघि बढाएको जनाएको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ को हकमा संयुक्त रूपमा गरिएको पोल तथा डीबी बक्सको प्रमाणीकरणका आधारमा हिसाब मिलान गरी यसअघि भएको दोहोरो भुक्तानीसमेत समायोजन गर्दै बाँकी रकम भुक्तानी गरिएको हो।
यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राज्यको पूर्वाधार उपयोग गर्ने सबै सेवा प्रदायकले कानुनबमोजिम तिर्नुपर्ने शुल्क समयमै भुक्तानी गर्नु उनीहरूको दायित्व भएको बताएका छन्।
मन्त्री श्रेष्ठले वर्ल्डलिंकबाट सुरु भएको भुक्तानी प्रक्रियालाई सकारात्मक सुरुआतको रूपमा व्याख्या गर्दै अन्य सेवा प्रदायकहरूले पनि कानुनअनुसार आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे।











