पुँजी बजारमा त्रासः सरकारको आश्वासन फेल हुँदा डुब्दै लगानी, अझै के छन् खतरा ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार चौथो कारोबार दिन पनि ओरालो लागेको छ । शेयर बजारमा थप गिरावट आउने चिन्ता बढ्न थालेको छ । सूचकसँगै दैनिक कारोबार रकम पनि खुम्चिँदै गएको अवस्थाले लगानीकर्ताको आत्मविश्वास कमजोर बन्दै गएको संकेत गरेको छ । बजारले स्पष्ट दिशा लिन नसक्दा अधिकांश लगानीकर्ता नयाँ लगानी गर्नुभन्दा ’पर्ख र हेर’को रणनीतिमा देखिएका छन् ।
बजार सुधारका लागि सरकारका तर्फबाट सकारात्मक अभिव्यक्ति आए पनि त्यसको प्रभाव व्यवहारमा नदेखिँदा लगानीकर्तामा निराशा बढ्दै गएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजार सुधारप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै आएका छन् भने बालेन शाहसँगको भेटपछि पनि केही दिन सकारात्मक माहोल बनेको थियो। तर त्यो उत्साह टिक्न नसक्दा बजार फेरि निरन्तर घट्न थालेको हो।
विश्लेषकहरूका अनुसार बजारमा पर्याप्त तरलता अभाव, नीतिगत अन्योल र संस्थागत लगानीकर्ताको निष्क्रियताका कारण तत्कालै उल्लेखनीय सुधार हुने आधार कमजोर देखिएको छ। ठूला लगानीकर्ता नयाँ खरिदमा आक्रामक नदेखिँदा सीमित ट्रेडिङ गतिविधिले मात्रै बजार धानिरहेको अवस्था रहेको उनीहरूको भनाइ छ। साना लगानीकर्ताको खरिद क्षमता पनि कमजोर भएकाले बजारलाई माथिल्लो दिशातर्फ लैजान पर्याप्त बल पुग्न सकेको छैन।
यही कारण आगामी केही कारोबार दिनमा पनि बजारमाथि बिक्री दबाब कायम रहने र नेप्सेमा थप गिरावट आउन सक्ने आकलन गरिएको छ। जबसम्म नीतिगत स्पष्टता, बजारमा तरलता सुधार तथा लगानीकर्ताको विश्वास पुनः स्थापित हुने खालका ठोस कदम अघि बढ्दैनन्, तबसम्म बजारले स्थायी सुधारको गति समात्न कठिन हुने जानकारहरूको विश्लेषण छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अकंले घटेर २६७२.५८ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको ७५ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज विकास बैंकको सर्वाधिक १.१२ प्रतिशतले घटेको छ ।
बिहिबार ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।












