जागिर दिलाइदिने बहानामा ५ लाख घुस, गाउँपालिका उपाध्यक्षविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआईएस अपरेटर सुरेश कहारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गाउँपालिकामा जागिर लगाइदिने बहानामा ५ लाख रुपैयाँ घुस लिएको आरोपमा आयोगले बिहीबार विशेष अदालत, काठमाडौँमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुने ‘न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रम’का लागि निकालिएको पेस्की रकम नै घुसका रूपमा प्रयोग गरिएको पाइएको छ।
अनुसन्धानबाट कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाएका तत्कालीन एमआईएस अपरेटर कहारले ६ लाख रुपैयाँ पेस्की लिएको र उक्त रकम खातामा आएलगत्तै ५ लाख रुपैयाँ उपाध्यक्ष चौधरीको बैंक खातामा जम्मा गरिदिएको खुलेको आयोगले जनाएको छ।
कार्यक्रमका लागि पेस्की लिए पनि कुनै काम नगरी आपसी मिलेमतोमा उक्त रकम घुस/रिसवतका रूपमा लेनदेन गरिएको आयोगको आरोप छ। चौधरीको बैंक खातामा जम्मा भएको ५ लाख रुपैयाँ कहारले कार्यालय सहयोगीको नाममा चेक काटेर जम्मा गरेको समेत अनुसन्धानबाट पुष्टि भएको आयोगले उल्लेख गरेको छ।
अख्तियारले दुवै प्रतिवादीविरुद्ध जनही ५ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिवानाको माग गरेको छ। साथै, घुसबापत लिइएको ५ लाख रुपैयाँ जफत गर्न पनि अदालतसँग मागदाबी गरिएको आयोगले जनाएको छ।











