तराई तनावबारे चेम्बर अफ कमर्सको अपिल: ‘अफवाह होइन, संवाद र सद्भाव रोजौँ’

१४ श्रावण २०८३, बिहीबार १८:१९

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।  घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वर्तमान संवेदनशील परिस्थितिमा संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ।

बुधबार जारी वक्तव्यमा चेम्बरले नेपाल विभिन्न धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान, सद्भाव तथा सहअस्तित्वको भावनामा आधारित राष्ट्र भएको उल्लेख गर्दै यही विविधता नै देशको सबैभन्दा ठूलो शक्ति रहेको जनाएको छ। सामाजिक सद्भाव र सहिष्णुताको संरक्षण तथा प्रवर्द्धन गर्नु सबै नागरिकको साझा दायित्व भएको पनि वक्तव्यमा उल्लेख छ।

चेम्बरले संवेदनशील अवस्थाको फाइदा उठाउँदै फैलाइने अफवाह, भ्रामक सूचना तथा कुनै पनि प्रकारका हिंसात्मक गतिविधिबाट टाढा रहन नागरिकहरूलाई अपिल गरेको छ। कुनै पनि असहमति वा मतभेद मानव जीवन, सामाजिक सद्भाव र राष्ट्रिय एकताभन्दा ठूलो हुन नसक्ने उल्लेख गर्दै सबैलाई जिम्मेवार र संयमित व्यवहार गर्न आग्रह गरिएको छ।

वक्तव्यमा शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, प्रतिपक्षी दल तथा समुदायका अगुवाले गरिरहेका प्रयासहरूको प्रशंसा गरिएको छ। साथै, खुला संवाद, पारदर्शिता, निष्पक्षता र आपसी सम्मानका आधारमा सबै सम्बन्धित पक्षबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको चेम्बरको धारणा छ।

नेपाल चेम्बर अफ कमर्सले धार्मिक अगुवा, सामाजिक संघसंस्था, युवा समूह, नागरिक समाज, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई सामाजिक सद्भाव अभिवृद्धि गर्न, सबै धर्म र समुदायप्रति सम्मानको भावना विकास गर्न तथा एकतामूलक वातावरण निर्माणमा सक्रिय योगदान दिन आग्रह गरेको छ। दिगो शान्ति र स्थायित्व सबैको साझा प्रयासबाट मात्र सम्भव हुने विश्वास पनि चेम्बरले व्यक्त गरेको छ।

चेम्बरले आर्थिक समृद्धि र सामाजिक सद्भाव एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै स्थिर र सुरक्षित वातावरणमा मात्र व्यवसाय, उद्योग तथा लगानी विस्तार हुन सक्ने जनाएको छ। समुदायहरूबीचको एकताले परिवार, समाज र समग्र अर्थतन्त्रलाई थप सुदृढ बनाउने विश्वास पनि वक्तव्यमा व्यक्त गरिएको छ।

प्रभावित व्यवसायहरूको पुनःस्थापना, समुदायबीच सहकार्य तथा जनविश्वास पुनर्निर्माणका लागि आवश्यक सकारात्मक पहलमा साथ दिन आफूहरू सदैव तयार रहेको प्रतिबद्धता पनि चेम्बरले जनाएको छ। सरकार, स्थानीय समुदाय तथा सरोकारवालासँगको सहकार्यमार्फत निजी क्षेत्रले पुनर्निर्माण, पुनरुत्थान तथा दीर्घकालीन शान्ति र समृद्धि स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।

वक्तव्यमा वर्तमान समय विभाजनभन्दा सहिष्णुता, टकरावभन्दा संवाद र मतभेदभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिने समय भएको उल्लेख गर्दै सबै नेपालीलाई सद्भाव, सहिष्णुता र सामाजिक एकताको गौरवशाली परम्परालाई अझ सुदृढ बनाउन आह्वान गरिएको छ।

नेपाल चेम्बर अफ कमर्सले सरकार, प्रतिपक्षी दल, निजी क्षेत्र, समुदायका अगुवा, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनताबीचको सहकार्य, विश्वास र एकतामार्फत प्रभावित क्षेत्रमा चाँडै नै पूर्ण रूपमा शान्ति पुनःस्थापित हुने र ती क्षेत्र अझ एकताबद्ध, सुदृढ तथा समृद्ध बन्दै अघि बढ्ने विश्वाससमेत व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*