४ दिनको राताम्यपछि बजारमा सुधारः लगानीकर्ताको मनोबल अझै कमजोर, किन छ त्रास ?

१५ श्रावण २०८३, शुक्रबार १५:०४

काठमाडौं । लगातार चार कारोबार दिनसम्म ओरालो लागेको शेयर बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार भने सामान्य सुधार देखिएको छ । यद्यपि सूचकमा आएको यो सुधारले बजारको समग्र मनोविज्ञानमा खासै परिवर्तन ल्याउन सकेको छैन । पछिल्ला दिनमा दैनिक कारोबार रकमसमेत निरन्तर खुम्चिँदै जानुले लगानीकर्ताको आत्मविश्वास कमजोर बन्दै गएको संकेत गरेको छ । बजारले स्पष्ट दिशा लिन नसक्दा अधिकांश लगानीकर्ता नयाँ लगानी गर्नुभन्दा ’पर्ख र हेर’को रणनीतिमा बसेका छन्, जसका कारण खरिद–बिक्री गतिविधि अपेक्षाकृत सुस्त देखिएको छ ।

बजार सुधारका लागि सरकार सकारात्मक रहेको अभिव्यक्ति पटक–पटक आए पनि त्यसको प्रभाव व्यवहारमा नदेखिएको भन्दै लगानीकर्तामा निराशा बढ्दै गएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीबजारप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै आएका छन् भने बालेन शाहसँगको भेटपछि केही समय बजारमा सकारात्मक माहोल बनेको थियो । तर त्यो उत्साह छोटो समयमै सेलाएपछि नेप्से पुनः लगातार घट्न थालेको हो । बजारमा पर्याप्त तरलता अभाव, नीतिगत अन्योल तथा संस्थागत लगानीकर्ताको निष्क्रियताले सुधारको गति रोकिएको विश्लेषकहरूको भनाइ छ । ठूला लगानीकर्ता नयाँ खरिदमा आक्रामक नदेखिँदा सीमित ट्रेडिङकै भरमा बजार टिकिरहेको अवस्था रहेको उनीहरूको विश्लेषण छ ।

विश्लेषकहरूका अनुसार साना लगानीकर्ताको खरिद क्षमता कमजोर हुनुका साथै बजारमा नयाँ पूँजीको प्रवेश पनि सुस्त रहेकाले तत्काल उल्लेखनीय सुधार हुने आधार बलियो देखिएको छैन । यही कारण आगामी केही कारोबार दिनमा पनि बिक्री दबाब कायम रहने र नेप्सेमा थप उतारचढाव वा गिरावटको सम्भावना रहने आकलन गरिएको छ। नीतिगत स्पष्टता, वित्तीय प्रणालीमा तरलता सुधार र लगानीकर्ताको विश्वास पुनः स्थापित गर्ने खालका ठोस कदम नचालिएसम्म बजारले दिगो सुधारको लय समात्न कठिन हुने जानकारहरूको निष्कर्ष छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९६ अकंले बढेर २६८५.५४ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको ८८ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड २५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा सुधार देखिएको छ भने दुई उपसूचक मात्रै घट्न पुगेका हुन ।

शुक्रबार १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ८२ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*