नाइमा मोबिलिटी एक्स्पोमा पहिलोपटक सार्वजनिक हुँदै निसान टेकटन

काठमाडौँ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले विश्व बजारमा हालै सार्वजनिक गरिएको अल–न्यू निसान टेकटनलाई पहिलोपटक नेपालमा सार्वजनिक गर्ने भएको छ।
कम्पनीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत नयाँ प्रिमियम एसयूभी टेकटन नेपाली बजारमा प्रदर्शन गर्न लागेको हो। उक्त प्रदर्शनी अगस्ट ११ देखि १६, २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।
विश्वव्यापी रूपमा जुलाई ९, २०२६ मा सार्वजनिक गरिएको टेकटन निसानको नयाँ प्रिमियम एसयूभी हो। कम्पनीका अनुसार यो मोडलले निसानको एसयूभी लाइनअपमा महत्वपूर्ण स्थान बनाउने अपेक्षा गरिएको छ। आकर्षक डिजाइन, प्रिमियम फिचर, अत्याधुनिक प्रविधि तथा उत्कृष्ट कार्यसम्पादनको संयोजनले टेकटनले नेपाली ग्राहकलाई नयाँ ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ।
निसान पेट्रोलबाट प्रेरित टेकटनले कम्पनीको ७५ वर्ष लामो एसयूभी विरासतलाई आधुनिक शैलीमा प्रस्तुत गरेको जनाइएको छ। यसमा आकर्षक बडी लाइन, मस्कुलर डिजाइन, सिग्नेचर ‘सी’ आकारका एलईडी हेडल्याम्प तथा प्रभावशाली रोड प्रेजेन्स समावेश गरिएको छ।
टेकटनमा १०० प्रतिशत टर्बोचार्ज्ड टर्बो टी१६० पावरट्रेन प्रयोग गरिएको छ, जसले शक्तिशाली कार्यसम्पादन, उत्कृष्ट एक्सेलेरेशन तथा इन्धन दक्षता प्रदान गर्ने कम्पनीको दाबी छ। फराकिलो केबिन, पर्याप्त बुट स्पेस तथा दैनिक प्रयोगदेखि लामो यात्रासम्म उपयोगी हुने सुविधाका कारण यो एसयूभी पारिवारिक तथा साहसिक यात्राका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।
सुरक्षाका लागि टेकटनमा स्ट्यान्डर्ड रूपमा ६ वटा एयरब्याग, उच्च–शक्तिको स्टिल बडी स्ट्रक्चर तथा अड्याप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेकिङ, लेन किप एसिस्ट, ब्लाइन्ड स्पट वार्निङ र ३६० डिग्री क्यामेरा प्रणालीसहितका एडभान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम्स (एड्यास) समावेश गरिएको छ।











