चिया–कफी क्षेत्र सुधारका लागि कार्यदल गठन गर्ने मन्त्री चौधरीको निर्णय

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपालको चिया तथा कफी क्षेत्रको सुधार र प्रवद्र्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्षसमेत रहेकी मन्त्री चौधरीले बिहीबार कीर्तिपुरस्थित बोर्डको केन्द्रीय कार्यालयमा पदाधिकारीसँग छलफल गर्दै कार्यदल गठन गर्ने निर्णय गरेकी हुन् ।
छलफलमा नेपालमा चिया तथा कफीको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवद्र्धनका लागि आवश्यक नीतिगत र संस्थागत सुधारका विषयमा छलफल भएको थियो ।
मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी तथा किसानमैत्री बनाउन बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनर्संरचनाको मोडालिटीलाई अन्तिम रूप दिई २ हप्ताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएकी छन् ।











