अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ भियतनाम सरकारद्वारा सम्मानित

१७ श्रावण २०८३, आईतवार १०:५४

काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनाम सरकारले सम्मान गरेको छ । उनलाई भियतनामको परराष्ट्र मन्त्रालयले ‘आउटस्ट्यान्डिङ अवार्ड’ बाट सम्मान गरेको हो ।

नेपाल–भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई सहजीकरण गर्दै द्विपक्षीय सहयोग अभिवृद्धिमा गरेको योगदानको कदरस्वरुप भियतनामको मन्त्रालयले श्रेष्ठलाई सम्मान गरेको हो ।

श्रेष्ठलाई प्रदान गरिएको सम्मानपत्रमा नेपाल–भियतनामबीचको कूटनीतिक सम्बन्ध सुदृढ गर्न, आपसी सहयोग विस्तार गर्न तथा भियतनामको वैदेशिक सेवाको प्रवद्र्धनमा श्रेष्ठले पुर्याएको योगदान उल्लेखनीय रहेको उल्लेख छ ।

भियतनामको परराष्ट्र मन्त्रालयले श्रेष्ठले भियतनामको कूटनीतिक क्षेत्रको विकास, अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा वैदेशिक सेवाको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनको योगदानको उच्च प्रशंसा समेत गरेको छ ।

श्रेष्ठले नेपाल र भियतनामबीच सीधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै यसले बौद्ध पर्यटन, व्यापार, लगानी र सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताए । उनले नेपाल बुद्धको जन्मस्थल तथा भियतनाम समृद्ध बौद्ध सम्पदा र ठूलो बौद्ध समुदाय भएको मुलुक भएकाले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउन सीधा हवाई सम्पर्क अत्यन्त आवश्यक रहेको बताए ।

साथै श्रेष्ठले नेपाल–भियतनामबीच सूचना प्रविधि, पर्यटन, सेवा, शिक्षा, उत्पादन, कृषि, खाद्य प्रशोधन, पूर्वाधार, नवीकरणीय ऊर्जा, खानी तथा खनिज र लगानीका क्षेत्रमा व्यापक सहकार्यको सम्भावना रहेकाले यी क्षेत्रहरूमा संयुक्त लगानी र साझेदारीबाट दुवै मुलुकले फाइदा लिन सक्ने पनि बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*